Comments Add Comment

युएईबाट १४८ नेपाली बोकेर काठमाडौं उड्यो नेपाल एयरलाइन्स

दूतावास र सामाजिक संस्थाका प्रतिनिधिले गरे विदाई

विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गर्न लामबद्ध नेपालीहरु

५ असार, युएई । युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले बताए ।

कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो ।

स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् ।

नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् ।

विमानस्थलमा निःशुल्क कोरोना परिक्षण

विमानस्थलमा नेपालीहरुको आरडीटी परीक्षण गरिँदै

कोरोना परीक्षणसमेत गर्नुपर्ने भएपछि यात्रुहरु जहाज उड्ने समयभन्दा ६ घण्टाअघि नै विमानस्थल पुगेका थिए । उनीहरुलाई विमानस्थलसम्म पुग्ने सवारी र विमानस्थलको प्रतिक्षालयमा समेत सामाजिक दुरी कायम गरेर राखिएको थियो ।

युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क कोरोना परीक्षण गराएको छ । युएई सरकारले व्यवस्थित तरिकाले कोरोना परीक्षण गराएकोप्रति नेपालीहरुले आभार प्रकट गरेका छन् ।

दूतावास र सामाजिक संस्थाका प्रतिनिधिहरुले गरे विदाई

युएईमा कोभिड–१९ का कारण समस्यामा परेकाहरु नेपाली ध्वजावाहक विमान मार्फत पहिलो चरणमा स्वदेश फर्किएका हुन् । उनीहरुको विदाईका लागि आफन्त, दूतावासका कर्मचारी र सामाजिक संस्थाका प्रतिनिधिहरु विमानस्थलसम्म पुगेका थिए ।

विमानस्थलमा उनीहरुको कोरोना परीक्षण र अन्य सहयोगका लागि एनआरएनए युएईका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।

यस्तै दूतावासका तर्फबाट उपनियोग प्रमुख तथा प्रवक्ता रिता धिताल, द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझा, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमले विमानस्थलमै पुगेर विदाई गरेका थिए । यस्तै एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा र नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल पनि नेपालीहरुलाई विदाई गर्न विमानस्थल पुगेका थिए ।

अन्य उडानको तयारी

युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ ।

युएईबाट नेपाल एयरलाइन्सले २, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले ३–३ वटा उडान गर्ने दूतावासले जनाएको छ । उक्त उडान तालिकाबारे क्रमशः जानकारी दिने दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार युएईको समयअनुसार बिहान ११ बजे हुने नेपाल एयरलाइन्सको युएईका लागि  आधिकारिक टिकट बिक्रेता एजेन्सी प्रतिनिधि साजी पोलले जानकारी दिए ।

स्वदेश फर्कनहरुको सूची दूतावासले सम्बन्धित एयरलाइन्समा जानकारी गराउनेछ । सोही आधारमा एयरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने पोलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment