Comments Add Comment

कोराेना महामारीकै बीचमा ट्रम्पले सुरु गरे चुनावी सभा

७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक चुनावी सभाको आयोजना गरेका छन् । यद्यपि उनले यो सभामा अपेक्षा गरेकोभन्दा कम मानिसहरु भेला भएका थिए ।

ट्रम्पले गत साता तुलसाको बीओके सेन्टरमा आयोजना गरिएको यो कार्यक्रमका लागि करिब १० लाख मानिसले टिकटको लागि अनुरोध गरेको बताएका थिए । तर, १९ हजार सिट क्षमता रहेको उक्त कार्यक्रम स्थल पूरा भरिएको पनि थिएन ।

महामारीको बीचमा यस किसिमको चुनावी र्‍याली आयोजना गर्नुले विभिन्न किसिमको आशंका जन्माएको छ । यो कार्यक्रम शुरु हुनुभन्दा केही घण्टाअघि मात्र यो सभाको आयोजना गर्ने टोलीका ६ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । यो सभाले कोरोना भाइरसको जोखिम बढाउने विशेषज्ञहरुले बताएका छन् ।

यो सभामा अनुमान गरिएभन्दा कम मानिस उपस्थित हुनुको कारण भने स्पष्ट हुन सकेको छैन । यो चुनावी अभियान महामारी शुरु भएपछि अमेरिकामा बन्द कोठामा आयोजना गरिएको सबैभन्दा धेरे मानिस भेला भएको कार्यक्रम हो । जबकी यो कार्यक्रम भइरहेको ओक्लाहोमामा पनि निरन्तर कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले कोरोना भाइरस नियन्त्रणको विषयमा बोल्दै आफूले अधिकारीहरुलाई कोरोना परीक्षण घटाउन आग्रह गरेको बताएका छन् । उनले जति धेरै कोरोना भाइरसको परीक्षण गर्‍यो त्यति नै धेरै संक्रमित फेला पर्ने भएकाले आफूले परीक्षण नै घटाउन आग्रह गरेको उल्लेख गरेका छन् । पछिल्लो समय अमेरिकाका केही राज्यमा कोरोना भाइरसका संक्रमित बढेका छन् । यससँगै अमेरिकामा कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने आकलन गरिएको अवस्थामा ट्रम्पले भने चुनावी सभा आयोजना गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment