Comments Add Comment

सुर्खेतको अमरज्योति माविमा पठनपाठन सुरु

७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ ।

लकडाउन खुकुलो  बनाए  पनि सरकारले विद्यालयलाई  तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए ।

विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको प्रधानाध्यापक थापाको भनाइ छ । सबै विद्यार्थीलाई मास्क अनिवार्य र प्रवेश गर्दा गेटमै सेनिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ ।

विद्यालयले आइतबार कक्षा ७ का २० जना विद्यार्थीलाई स्वास्थ्य सावधानीका साथ दुरी कायम गरी पढाएको थियो ।

७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखिएको थियो । ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकामा रहेर पढाएका छौं,’ प्राध्यानाध्यापक थापाले, ‘हामीले दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सबै कक्षा सञ्चालन गर्ने तयारी थालेका छौं ।’

सामाजिक दुरी कायम गरेर पढाउन सकिन्छ कि भनेर पहिलो पटक अभ्यास गरेको उनले बताए । ‘सबै विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विचारमा छौं, ’ प्रधानाध्यापक थापाले भने ।

उनका अनुसार एउटा बेन्चमा एक जना र करिब दुई मिटरको दुरी हुने गरी विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् ।

तर सरकारले असार १ देखि वैकल्पिक सिकाइका लागि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन । प्रधानाध्यापक थापाका अनुसार अत्यधिक कोरोना संक्रमित भएको जिल्ला दैलेखलगायतका विद्यार्थीले भने विद्यालयमा प्रवेश पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment