
८ असार, काठमाडौं । गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएका भीमसेन थापा गाउँपालिका–८ महादेवटारका युवकको सम्पर्कमा आएका ३८ जनाको सोमबार नमुना संकलन गरिएको छ ।
संक्रमित युवकसँग प्रत्यक्ष सम्पर्क भएका ३८ जनाको नमुना संकलन गरेर परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको वडाध्यक्ष बासु थापाले जानकारी दिए ।
सोमबार वडा नं ८ को जागेश्वर माध्यमिक विद्यालयमा गाउँपालिकाका स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवकको सहयोगमा नमुना संकलन गरिएको थियो ।
काठ चोरीको अभियोगमा पक्राउ परेका भीमसेन थापा गाउँपालिका– ८ का २८ वर्षका युवकमा हिरासतमै कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी रिहा भएको दुई दिनपछि जेठ २२ गते उनीसँगै हिरासतमा रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि ती युवक र उनको सम्पर्कमा आएका अरु ४ जनाको कोरोना परीक्षण गरी होम क्वारेन्टिनमा बस्न भनिएको थियो । तर १४ दिनसम्म रिपोर्ट नआउँदा ती युवक होम क्वारेन्टिनबाट निस्केर परिवारका सदस्य र साथीहरुको सम्पर्कमा पुगेका वडाध्यक्ष थापाले बताए ।
असार ५ गते शुक्रबार युवकमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको थियो ।
युवकसँग प्रत्यक्ष सम्पर्क भएका ३८ जनाको नमुना संकलन गरेर होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले बताए । यदि यीमध्ये कसैमा संक्रमण देखिएमा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको फेरि कोरोना परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
ती युवकलाई गोरखा नगरपालिकामा बनाइएको आइसोलेसनमा पठाइएको छ । उनीसँगै कोरोना परीक्षण गरेका २ युवकको अझै रिपोर्ट आइसकेको छैन ।
युवकको सम्पर्कमा आएकाहरुमा कोरोना परीक्षणका लागि नमुना संकलन गर्न भीमसेन थापा गाउँपालिकाले नै भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) खरिद गरेको थियो । आइतबार चितवनबाट भीटीएम खरिद गरेर सोमबार नमुना संकलन गरिएको हो ।
प्रतिक्रिया 4