Comments Add Comment

पूर्वी नेपाल जोड्ने सडक निर्माणबारे मुख्यमन्त्री पौडेलको चासो

९ असार, हेटौंडा । सरकारले महत्वपूर्ण योजनाको रुपमा अघि सारेको पूर्वी नेपाल जोड्ने मदन भण्डारी (धरान–चतरा) मार्गमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चासो देखाएका छन् । प्रदेशको सिन्धुलीसम्मलाई समेट्ने मार्गको अवस्था र प्रगतिबारे जानकारी लिन उनी पूर्वी मकवानपुरको वागमती र बकैया गाउँपालिका पुगेका छन् ।

सडकको काम तीब्र गतिमा चलिरहे पनि मार्गको मुख्य कामको रुपमा रहेको सिन्धुली–मकवानपुर जोड्ने पुल निर्माण चाँडै सम्पन्न गर्न उनले ठेकदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन् । झण्डै १० वर्षअघि निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवाले ठेक्का पारेपनि पुलको काम अधुरो रहँदै आएको थियो ।

पुल निर्माण नहुँदा बर्षाको समयमा सिन्धुली र मकवानपुरका जनताले सास्ती खेप्दै आएको भन्दै मुख्यमन्त्री पौडेलले पुलमा चासो दिएका हुन् ।

पुलको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले भने अनुसार कामले गति नलिएको भन्दै ठेकदार कम्पनीलाई ताकेता गर्न मनद भण्डारी मार्ग निर्माण आयोजनालाई निर्देशन दिएका छन् ।
प्रदेशका विभिन्न जिल्लालाई प्रदेशको राजधानी हेटौंडासँग जोड्न वागमती खोलामा बन्ने पुल महत्वपूर्ण हुने उनको भनाइ थियो ।

पुल निर्माणसँगै प्रदेशको राजधानीसँग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक सञ्जालमा सहज रुपमा जोड्न सकिने उनले बताए ।

सडक निर्माणले पूर्वपश्चिम राजमार्गमा सवारी चापलाई घटाउने र तराई क्षेत्रमा बिभिन्न बहानामा हुने अवरोधबाट यातायात सुचारु गराउन हेटौंडा–धरान सडक महत्वपूर्ण मानिएको छ ।

३१८ किलोमिटर लामो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौंडा जोडने छ । हाल हेटौंडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दु्रतगतिमा चलिरहेको मार्ग निर्माण आयोजनाले जनाएको छ ।

सडक हेटौंडाको बुद्धचोकवाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुनरउपत्यकालाई यातायात सञ्जालमा जोड्दै धरान पुगेर टुंगिन्छ ।

यसैबीच मुख्यमन्त्री पौडेलले पूर्वी मकवानपुरको वागमती र बकैया गाउँपालिकाको समग्र विकास निर्माण लगायतका बारेमा गाउँपालिकाका पदाधिकारीसँग जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment