Comments Add Comment

हेटाैंडा उपमहानगरकाे बजेट २ अर्ब ८ कराेड

१० असार, हेटौंडामा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरको सातौं नगरसभामार्फत उपमहानगरका उपमेयर मिनाकुमारी लामाले आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित बजेट पेस गरेकी हुन् ।

उपमहानगरले पेस गरेको बजेट मध्ये आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाडफाडबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार, संघीय सरकार अनुदानबाट ९८ करोड ९९ लाख र चालू वर्षको असार मसान्तसम्म बचत राजश्व २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट व्यहोरिने उल्लेख छ ।

उपमहानगरले हाल देखिएको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरमा बसोवास गर्ने नगरवासीमा कोभिड संक्रमण भई मृत्यु भएमा परिवारलाई कोरोना रोकथाम नियन्त्रण कोषबाट राहत स्वरुप ३ लाख रुपैयाँ दिने भएको छ ।
उपमहानगरले आर्थिक बिकासका लागि गोठ सुधार, पशुपालन, घाँस औषधि खरिदका लागि १ करोड ५८ लाख, व्यवसायिक कृषि क्षेत्र प्रबर्द्धनका लागि २ करोड ९६ लाख विनियोजन गरेको छ ।

सामाजिक बिकासका लागि हेटौंडा-८, चन्द्रोदय माबिमा प्याराफिट सिहतको खेलकुद प्रशिक्षण केन्द्रका लागि २ करोड ५० लाख, नमूना विद्यालय भौतिक पूर्वाधारका लागि २ करोड ३५ लाख, सामुदायिक बिद्यालयका छात्राहरुका लागि नि:शुल्क सेनेटरी प्याड व्यवस्थापनको लागि १ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमहानगरले नगरवासीको आर्थिक तथा सामाजिक परिवर्तनका लागि निर्माण थालेको ६६ किलोमिटर लामो चक्रपथ निर्माणमा निरन्तरता दिने भएको छ । यसका लागि २ करोड बिनियोजन गरेको छ ।

कोरोना संक्रमणसँगै वैदेशिक रोजगारबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

सभामा उपमेयरले पेस गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा चालुतर्फ ७५ करोड ३८ लाख २२ हजार र पुँजीगत तर्प ३१ करोड ७७ लाख ४१ हजार गरी कुल एक अर्व ७ करोड १५ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

उपमहानगरले चालु आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनबाट १७ करोड तीन लाख ५६ हजारसमेत कुल १ अर्व ५८ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment