Comments Add Comment

यातायात कार्यालयमा कोरोनालाई गिज्याउने भिड

१० असार, काठमाडौं । सडकको किनार मोटरसाइकल र चार पांग्रे सवारी साधनले भरिएको छ । कोही आइहाले पार्किङ गर्ने ठाउँ भेट्न सहज छैन । ‘लौ ब्लु बुक….. ’ भन्दै केही व्यापारीहरु ग्राहक बोलाइरहेका छन् । कोही पानीका बोतल (मिनरल वाटर) बेच्न डुलाइरहेका छन् । नजिकै सोडा, पानीपुरी चटपटे बिक्री भइरहेको छ ।

यो दृश्य ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय अगाडिको हो । बाहिरै यस्तो चहल–पहल ! भित्र कस्तो होला ? मंगलबार दिउँसो हामी यातायात कार्यालयभित्र प्रवेश छिर्यौं ।

विश्व स्वास्थ्य संगठनले भनेको न्युनतम् सामाजिक दूरी त के, कसैलाई नछोई भित्र पस्न मुश्किल पथ्र्यो । गेटभित्र प्रवेश गर्नेवित्तिकै कुनामा सुरक्षा गार्ड स्यानिटाइजर लिएर बसेका रहेछन् । कुनामा भएका कारण उनलाई गेटबाट प्रवेश गर्ने कमैले देख्थे । सबै हातमा स्यानिटाइजर लगाउन सम्भव थिएन ।

सवारी चालक अनुमतिपत्र लिनेहरुको लाइन ठूलो छ । दूरी कायम गराउनका लागि त्यहाँ रेखांकन पनि गरिएको छ । तर, कसैले दूरी कायम गरेका छैनन् । तर, अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर ।

कार्यालय भवनका अगाडि राष्ट्रिय वाणिज्य बैंकको काउन्टर छ । त्यहाँ राजश्वको तिर्नेहरुको उस्तै भीड । चिउँडोमै भए पनि मास्क अधिकांशले झुन्ड्याएका छन् । तर, दूरी कसैले कायम गरेका छैनन् । कसैलाई कोरोना भएको रहेछ भने अरुलाई सर्न पनि सक्छ ।समयमा कर नतिरे जरिवानामा परिएला भन्ने डरले धेरै सेवाग्राहीहरु त्यहाँ पुगेका रहेछन् ।

असार १ गतेदेखि नै यातायात कार्यालय खुले पनि राजश्व संकलनको काम भने ७ गते आइतबारदेखि मात्र शुरु भएको हो ।

कार्यालयका लेखापाल सागर अधिकारीका अनुसार कार्यालयले दुई दिनमा ११ लाख ७२ हजार ८ सय रुपैयाँ नवीकरणबाट राजश्व उठाएको छ । ट्रायल पासमा १ लाख ८२ हजार ५ सय राजश्व उठेको छ । भेरिफिकेसनमा १४ हजार रुपैयाँ उठेको छ । दुई दिनमा कुल १३ लाख ६९ हजार रुपैयाँ राजश्व उठेको अधिकारीले अनलाइनखबरलाई बताए ।

सेवाग्राहीका गुनासा

निजी सवारी साधनको कर तिर्न मण्डिखाकाटारबाट यातायात कार्यालय एकान्तकुना पुगेका शिवराज पौडलले जोखिम मोलेर कर तिर्ने लाइनमा बस्नु पर्दा दुःख लागेको सुनाए ।

यातायात कार्यालयले संक्रमणको सतर्कताका बारेमा खासै चासो नदेखाएको भन्दै उनले दुःख व्यक्त गरे । ‘म कारको कर तिर्न आएको, यहाँ यतिधेरै भीड देखेर आत्तिएको छु’ उनले भने, ‘यहाँ आइसकेपछि नतिरी कसरी जाऔंँ ? डर लागे पनि लाइनमा त बस्नैपर्‍यो ।’

उनीसँगै लाइनमा रहेका कोटेश्वरका सुमन प्रधान पनि निजी गाडीको कर तिर्न आइपुगेका रहेछन् । धेरै ठूलो भीड देखेर उनी पनि डराए । लाइनमा उनले ४५ मिनेट समय खर्चिसकेका छन् । अझै कति समय लाग्ने हो, ठेगान छैन । उनी भन्छन्, ‘कर नतिरी पनि भएन, आइसकेपछि जसरी पनि तिर्नै पर्‍यो ।’

लाइनमै भेटिएका नवीन रुपाखेती भने सरकारसँग केही आक्रोशित देखिए । उनले सरकारकै कारण कोरोना संक्रमण फैलने सम्भावना धेरै रहेको दाबीसमेत गरे । सरकारले व्यवस्थापनको पाटो नहेरी कर तिर्न ताकेता गरेको उनको गुनासो रहेछ ।

उनले भने, ‘यो त सबै सरकारको कारण भएको हो, यस्तो महामारीका बेलामा पनि सरकारले कर तिर, कर तिर भनेर ताकेता गरिरहेको छ ।’

उनले थपे, ‘सार्वजनिक यातायात बन्द छ, मेरो पो निजी गाडी छ र आएँ, अरु कसरी आउँछन् ? अझ सरकार यति गतेभित्र कर तिर् भनेर धम्की दिन्छ ।’

मैतिदेवीका रोहन राई सुरुमा कार्यालयमा भीड देखेर केहीबेर आत्तिए । एकछिनपछि, काठमाडौंमा कोरोना फैलिसकेको छैन भन्ने सोचेर भीड छिचोल्दै लाइनमा बसेको उनले सुनाए । राई भन्छन्, ‘ फेरि, जरिवानामा परिएला कि भनेर लाइन बसें ।’

कर तिर्न कार्यालयमा पुगेका जेबी नेपाल भने सरकारको मात्रै मुख ताक्ने भन्दा पनि आफै सचेत हुनुपर्ने बताउँछन् । धेरै ठूलो भीड देखेर आफूलाई पनि डर लागेको बताउँदै उनले भने, ‘यहाँ डर त धेरै छ, कार्यालयले राम्रो व्यवस्थापन गरेको छैन, तर, हामी आफैं पनि त सचेत हुनुपर्यो नि ।’

यस्तो भीडभाड हुन दिने हो भने लकडाउन गर्नुको पनि कुनै अर्थ नरहेको बताए । उनले यातायात कार्यालय भेडीगोठ जस्तै देखिएको प्रतिक्रिया दिए । ‘सबै मान्छेहरु भेडाबाख्रा जसरी गुडुडु निस्किएका छन्’ उनले भने, ‘कर्मचारीले पनि वास्ता गरेका छैनन, सेवाग्राही हामी स्वयंमा पनि यो चेतना आउनुपर्ने हो ।’

कार्यालय प्रमुखको आरोप : सेवाग्राहीमा चेतना छैन

कार्यालयका प्रमुख सम्बरबहादुर कार्की कोरोना संक्रमण फैलन नदिनका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको दाबी गर्छन् । उनले सामाजिक दूरी कायम गर्न रेखांकन गरिएको, स्यानिटाइजर तथा मास्क प्रयोग अनिवार्य गरिएको बताए ।

तर, बाहिर त भद्रगोल छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यो त सेवाग्राहीहरु आफैं सचेत नभएका कारण हो ।’

दूरी कायम गराउनका लागि प्रहरीको सहयोग समेत लिइएको कार्कीले बताए । उनले भने, ‘प्रहरी पनि खटिएको छ, तर पनि सेवाग्राहीहरु रेखांकन गरेको ठाउँमा बस्नुहुन्न ।’

कार्कीका अनुसार लाइसेन्स वितरणमात्रै दैनिक ३ सय भन्दा बढी हुने गरेको छ । नवीकरण लगायतका सेवा लिने सेवाग्राहीको संख्या पनि बढिरहेको छ ।

तस्वीर र भिडियोः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment