Comments Add Comment

एक महिनाको घरभाडा नलिए महानगरबाट बहाल कर छुट

१० असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९)को प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ ।

घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बाषिर्क बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालकर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमा समेत कोभिड-१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ ।

होटेल पर्यटन क्षेत्रलाई सहुलियत

काठमाडौं महानगरपालिले कोभिड-१९ को प्रभावका कारण व्यवसायमा परेको प्रभाव न्यूनीकरणका लागि विशेष घोषणा गरेको छ । यसअन्तर्गत मूख्य प्राथमिकता होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई दिइएको छ ।

महानगरले असुल गर्ने करमध्ये असुल हुन बाँकी रहेको चालु आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा महानगरले शतप्रतिशते छुटको घोषणा गरेको छ ।

कोभिड-१९ का कारण महानगरवासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरे यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा समेत दश प्रतिशत छुट दिने गरी बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार प्रस्तुत गरेको बजेट अनुसार घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा भने त्यस्तो छुट दिइने छैन । सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर छुट हुने भएको छ ।

यो पनि पढ्नुहोस काठमाडौं महानगरपालिका बजेट : तीनकुनेमा बुद्ध पार्क, प्रशासनिक खर्च कटौती

महानगरपालिकाले हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएका असर न्यूनीकरण गर्न होटेल, रिसोर्टलाई सहुलियतको घोषणा समेत गरेको छ । यसअन्तर्गत घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक वर्ष २०७६/७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुटको घोषणा महानगरपालिकाले गरेको छ ।

२०७७ पुस मसान्तभित्र सम्पत्ति कर बुझाएमा हुने दश प्रतिशत छुटसमेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउने महानगरले उल्लेख गरेको छ ।

व्यवसाय करमा ५० प्रतिसतसम्म छुट

काठमाडौँ महनगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार व्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित व्वसायीहरुले तिर्ने व्यवसाय करमा पचास प्रतिशत र अन्य सबै व्यवसायीहरुले तिर्ने व्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुईतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।

त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात व्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, ट्रेकिङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, वैदेशिक रोजगार सम्पर्क व्यवसाय, डान्स ट्रिनिङ्ग सेन्टर, संगीत सम्बन्धी सेवा प्रदान गर्ने व्यावसायलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment