Comments Add Comment

कोरोना संक्रमितको शव व्यवस्थापनमा पोखरामा फेरि अवरोध

तस्बीर सौजन्य : सन्दीप पौडेल

११ असार पोखरा । पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।

झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय बासिन्‍दा घाइते भएका छन् । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले शव व्यवस्थापन गरेर फर्किने क्रममा झडप भएको बताए । ‘सुरुदेखि नै अवरोध सिर्जना भइरहेको थियो । पछि सद्गद् गरेर फर्किनेबेला स्थिति असामान्य बन्न पुगेको हो,’ उनले भने, ‘नाकामा चेकिङका लागि राखिएका टेन्टमा सामान्य क्षति पुगेको छ ।’

झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । जेठ २५ गते मृत्यु भएका ती व्यक्तिको शव पोखरा ११ र २० को सिमानामा व्यवस्थापन गरिएको थियो ।

बस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधिले नै अवरोध गरेका थिए । त्यतिबेला पनि प्रहरी र स्थानीयबीच झडप हुँदा वडाध्यक्षसहित केही प्रहरीसमेत घाइते हुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment