Comments Add Comment

भीमसेन थापा गाउँपालिकामा लकडाउन कडाइ

स्थानीयमा कोरोना सरेपछि ३ वटा वडा सिल

१२ असार, गोरखा । भीमसेन थापा गाउँपालिकाले लकडाउनमा कडाइ गरेको छ । समुदायस्तरमा कोरोना फैलिन सक्ने भन्दै मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले लकडाउनलाई थप कडा गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाका अनुसार स्थानीयतमा कोरोना देखिएको टोललाई सिल गरिएको छ । स्थानीय पाँचजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पालिकाभर हालसम्म संक्रमितको संख्या २६ पुगेको छ । ४ जना भने डिस्चार्ज भइसकेका छन् । ‘स्थानीयमा कोरोना देखिएको वडानम्बर ५ रिठ्ठेपानी, ६ को अश्राङ र ८ को महादेवटार हो,’ उनले भने, ‘कोरोना फैलिन नदिन यी टोलहरुलाई सिल गर्ने निर्णय गरेका हौँ ।’ कोरोना संक्रमणको जोखिम रहेको भन्दै उक्त क्षेत्रमा मानिस आउजाउमा समेत रोक लगाइएको छ ।

पालिकाभित्रका सबै बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय र पसलहरु बन्द गरिएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताए । ‘खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्ने पसलहरु बिहान ६ बजे देखि १० बजेसम्म खुल्न पाउने व्यवस्था गरेका छौ,’ उनले भने ।

एक वडाबाट अर्काे वडामा अतिआवश्यक काम वाहेक आवतजावतमा रोक लगाइएको उनले बताए । पालिकाभित्रका स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी

कार्यालयबाट प्रवाह हुने सेवा हाललाई बन्द गरिएको उनले जानकारी दिए ।

उनका अनुसार जुवातास खेल्ने, झै-झगडा गर्ने वा समूह बनाएर हिँडडुल गर्ने कार्यलाई पूर्णरुपमा निषेध गरिएको छ ।

बन्दाबन्दीको अवेज्ञा गरे नियमअनुसार कारबाही गरिने उनले चेतावनी दिएका छन् । ‘स्थानीयमा कोरोना सरेपछि एक हप्ताको लागि कडाइ गरेका हौं, एक हप्तापछिको अवस्था हेरेर आवश्यक निर्णय गर्छाै,’ पाण्डेले भने ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडा संयन्त्रलाई थप सक्रिय बनाउँदै टोलटोलमा जनचेतनामूलक कार्यक्रम संचालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment