Comments Add Comment

कांग्रेसका संशोधनः कल ट्यापिङ गर्न अदालतको अनुमति चाहिन्छ

१२ असार, काठमाडौं । अदालतको अनुमतिबिना कल ट्यापिङ (इन्टरसेप्सन) गर्न नदिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विशेष सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयकले अदालतको अनुमति बिना नै गुप्तचर निकायले कल ट्यापिङको अधिकार पाउने व्यवस्था छ ।

अदालतको अनुमति नलिइकनै कल ट्यापिङ गर्न दिए त्यसको दुरुपयोग हुन सक्ने र त्यो व्यक्तिगत स्वतन्त्रता विपरित हुने भन्दै कांग्रेसका सांसदहरुले विधेयकमा यस्तो संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

कांग्रेसका २२ जना सांसदले चार समूहमा रहेर संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

गगन थापा एक्लै र मिनेन्द्र रिजाल, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, पदमनारायण चौधरी, भीमसेनदास प्रधान र मीना सुब्बाले उक्त विधेयकमाथि संशोधन दर्ता गराएका छन् । त्यस्तै सञ्जयकुमार गौतम, बहादुरसिंह लामा, रामबहादुर विष्ट, राजेन्द्रकुमार केसी र देवप्रसाद तिमल्सिनाको अर्को र पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडू, मानबहादुर बिश्वकर्मा, डिला संग्रौला, लक्ष्मी परियार, रंगमती शाही, उमा रेग्मी, देवेन्द्रराज कंडेल, अतहर कमाल मुसलमान र सत्यनारायण शर्मा खनालले अर्को संशोधन दर्ता गराएका छन् ।

एकै समुहमा संशोधन हाल्दा संसदीय समितिमा बोल्न वा संशोधन विधेयकमाथि तर्क गर्न कम समय पाइन सक्ने भएकाले बढी समय लिन फरक समूहमा संशोधन हालिएको कांग्रेस नेताहरुले बताएका छन् ।

गुप्तचरलाई गृहमन्त्री मातहत ल्याउन प्रस्ताव

कांग्रेस सांसदले गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग) लाई गृहमन्त्री मातहत राख्ने प्रस्ताव गरेका छन् ।

पहिले गृहमन्त्रालय मातहत नै रहेको यो निकायलाई २०७४ फागुन १६ पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखेको छ । विशेष सेवासम्बन्धी विधेयकमा पनि अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमै राखिएको छ । राष्ट्रियसभाबाट यही व्यवस्था पारित भएको छ ।

प्रतिगुप्तचरी संयन्त्र ब्यूँताउने सरकारी प्रस्तावमा भने कांग्रेसले सहमति जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभाग मातहत रहने गरी नेपालमा प्रतिगुप्तचरी संयन्त्र (काउन्टर इन्टेलिजेन्स) ब्यूँताउने सम्बन्धी विधेयकको प्रस्तावमाथि कांग्रेसका सांसदहरुले संशोधन दर्ता गराएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment