Comments Add Comment

आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित, अरुलाई पनि घर पठाइयो

प्रतीकात्मक तस्वीर

१२ असार, काठमाडौं । दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् ।

नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् ।

आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए । ‘उनीहरु आइसोलेसनमा बसेको १४ देखि १७ दिन भइसकेको थियो र लक्षण पनि नदेखिएकाले एक दुई दिनभित्रै घर पठाउने तयारी पनि थियो’ कोइरालाले अनलाइनखबरसँग भने, एक्कासी उनीहरु बिहीबार राति भागेछन् ।’

कोइरालाका अनुसार नौमुले गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालयको आइसोलेसनमा ३० जना संक्रमितको उपचाररत छन् ।

‘आइसोलेसनमा बस्दै आएका संक्रमितहरुलाई बिहीबार मात्रै चिकित्सकको टोलीले काउन्सिल गरेको थियो,’ कोइरालाले भने, ‘राष्ट्रिय गाइडलाइन अनुसार कुनै पनि लक्षण नदेखिएकालाई हामी केही दिनमै घर पठाउँछौं भन्नु भएको रहेछ । उहाँहरु एक्कासी आइसोलेसनबाट भागेका कारण व्यवस्थापनमा भएका कमीकमजोरीबारे छलफल भएको छ । यदि व्यवस्थापनमा कमजोरी भएको रहेछ भने सुधार गर्ने निर्णय पनि भएको छ ।’

भागेका मध्ये ८ जनालाई आइसोलेसन सेन्टरमा फिर्ता ल्याइएको थियो भने अरु पनि सम्पर्कमा आएका थिए । तर आइसोलेसन सेन्टरमा भने आएका थिएनन् ।

गाउँपालिकाकी उपप्रमुख अमृता सिंहको अनुसार भागेकासहित गरेर १०१ जनालाई शुक्रबार साँझ घर पठाइएको छ । उनीहरु आइसाेलेसनमा बसेका १४ देखि १७ दिन भइसकेका कारण उनीहरुलाई घर पठाइएको र ३० जनालाई पनि भोलि घर पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment