Comments Add Comment

गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज

१३ असार, गुल्मी । गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना डिस्चार्ज भएका हुन् ।

इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । संक्रमितहरुको २ पटक पीसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको उपाध्यक्ष खत्रीले बताइन् ।

उनीहरु भारतबाट आएर गाउँपालिकाको वडा नम्बर–५ को कुमारी निमाबिमा बनाइएको आइसोलेसनमा बसेका थिए । उनीहरु भारतबाट आएर ३५ दिनसम्म आइसोलेसनमा बसेका थिए । अध्यावधिक विवरण अनुसार इस्मा गाउँपालिकामा हालसम्म ५७ जना कोरोना संक्रमित छन् ।

त्यस्तै मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमित पुरुषहरु पनि डिस्चार्ज भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । संक्रमितहरुमा १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएकाले घर पठाइएको गिरीले बताए । गिरीका अनुसार उनीहरु कोरोना मुक्त भए/नभएको जाँच गरिएको छैन ।

अद्यावधिक विवरणअनुसार मालिका गाउँपालिकामा २१ जना कोरोना संक्रमित छन् ।

पछिल्लो तथ्यांक अनुसार गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । ३२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५७२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment