Comments Add Comment

पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

१३ असार, वीरगञ्ज । पर्सामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । होटलमा पेड क्वारेन्टिनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको उमेर ३२ वर्ष छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

असार ४ गते दिल्लीबाट आएर उनीहरु वीरगञ्जको कुमु होटल क्वारेन्टिनमा बसेका थिए । असार १० गते त्रिजुद्ध स्कुल क्वारेन्टिनमा उनीहरुको थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । शुक्रबार ७५ जनाको नमुना परीक्षण गरिएकोमा दुई जनाको मात्रै पोजेटिभ देखिएको थियो । शनिबार १ सय ४३ वटा थ्रोट स्वाबको नमुना परीक्षण गरिने प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. निरा पाठकले बताइन् ।

योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ । यसअघि ९ जना स्वास्थ्यकर्मी, २ जना पत्रकार, १ जना एम्बुलेन्स चालकसहित १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसमध्ये ५ जना भारतीय नागरिक छन् । संक्रमितमध्ये ५ जना महिलासहित ३२ जनाको नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचार भइरहको छ । असार १२ गतेसम्म पर्सामा ६ हजार ४ सय ७७ जनाको स्वाब संकलन गरिएकोमा ४ सय ३१ जनाको रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment