Comments Add Comment

वीरगञ्ज भन्सार नाकाबाट ४ अर्ब ८३ करोडको औषधि, कच्चा पदार्थ र केमिकल आयात

१४ असार, वीरगञ्ज । लकडाउन सुरु भएदेखि हालसम्म वीरगञ्ज भन्सार नाका हुँदै ४ अर्ब ८३ करोड ३९ लाख ४९ हजार ३ सय ९२ रुपैयाँको तयारी औषधी, कच्चा पदार्थ र केमिकल आयात भएको छ । ०७६ चैत ११ गतेदेखि ०७७ असार ७ गतेसम्म ४ अर्ब ९ करोड ५१ लाख ३ हजार ७ सय ५५ रुपैयाँको औषधि र ७३ करोड ८८ लाख ४५ हजार ६ सय १५ रुपैयाँको कच्चा पदार्थ तथा केमिकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

२२ लाख ८३ हजार ६ सय १७ किलो औषधि आयात हुँदा वीरगञ्ज भन्सारले २१ करोड ३ लाख ६९ हजार ५ सय २७ रुपैयाँ राजश्व संकलन गरेको छ भने ५२ लाख १५ हजार ६ सय ८ किलो कच्चा पदार्थ र केमिकल भित्रिँदा ६ करोड ६५ लाख ४१ हजार ३ सय ९८ रुपैयाँ राजश्व उठेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा औषधि र कच्चा पदार्थ तथा केमिकल कम आएको तथ्यांकले देखाउँछ । ०७५ चैत ११ देखि ०७६ असार ७ गतेसम्म ४ अर्ब ६२ करोड ४७ लाख ३२ हजार५ सय ५३ रुपैयाँको ३७ लाख ४७ हजार २ सय ६८ किलो औषधि भित्रिँदा २३ करोड ८८ लाख ८५ हजार २ सय ८७ रुपैयाँ राजश्व उठेको थियो भने १ अर्ब २४ करोड ९३ लाख २२ हजार ७ सय १७ रुपैयाँ बराबरको १ करोड ५ लाख ९९ हजार १९ किलो कच्चापदार्थ तथा केमिकल आयात हुँदा १५ अर्ब ६५ लाख २२ हजार ८ सय ७३ रुपैयाँ राजश्व संकलन भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौला कोरोना माहामारीका कारण औषधि निर्यात गर्ने मुलुकले नै निर्यातमा कडाइ गरेकाले औषधि, कच्चा पदार्थ तथा केमिकल आयातमा गिरावट आएको बताए ।

‘धान, चामल, औषधि, कच्चा पदार्थ र केमिकलहरु नियमित रुपमा आउनुपर्ने जति नै आएको हो । थोरै फरक परेको छ । त्यो नेपाल सरकारले रोकेका कारण होइन । भन्सारमा कुनै अवरोध भएको पनि हैन,’ प्रमुख भन्सार प्रशासक निरौलाले भने, ‘औषधि र औषधिसँग सम्बन्धित कच्चा पदार्थ कोरोना भाइरसँग सम्बन्धित छ । भारतलगायत जुन-जुन देशबाट आयात गरिन्छ । उनीहरुले नै उच्च सतर्कता अपनाएर मात्रै निर्यात गरे ।’

नेपालमा धेरै किसिमका औषधि र कच्चा पदार्थ पठाउने छिमेकी मुलुक भारतले विभिन्न प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा लामो समय रोक लगाएको थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा १७ अर्ब २९ करोड ९१ लाख ५३ हजार ५ सय ५९ रुपैयाँको १ करोड ९ लाख ६१ हजार ४ सय ४३ किलो औषधि आयात हुँदा ९३ करोड ६७ लाख ८३ हजार १ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै ३ अर्ब ९७ करोड ३ लाख ५८ हजार ९ सय रुपैयाँको ३ करोड १९ लाख ७६ हजार २ सय १८ किलो कच्चा पदार्थ र केमिकल आयात हुँदा ४४ करोड ८५ लाख ७५ हजार ८ सय २५ रुपैयाँ राजश्व उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment