१४ असार, पोखरा । कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको छ । बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
महतगौंडाका किसानले सलह देखिएको भन्दै बिहान ७ बजेतिरै पोखरा महानगरपालिकामा जानकारी गराएका थिए । ‘स्थानीयले नै बिहान फोन गरेर सलह देखिएको र आफूहरूले समाएको बताएपछि कार्यालयमै लिएर आउन भनेको थिएँ,’ पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनोहरि कडरियाले भने, ‘कार्यालयले हेर्दा सलह नै भएको पुष्टि भयो । हामी स्थलगत अध्ययनका लागि जाँदैछौं ।’
पोखरामा देखिएको सलह पाल्पा हुँदै भित्रिएको हुन सक्ने उनले जानकारी दिए । पोखरा-१७ महतगौंडामा सलह देखिएपछि त्यहीमाथिको डाँडा पोखरा-२१ भरतपोखरी, निर्मलपोखरी र कृस्तिलगायतका क्षेत्रमा पनि हुन सक्ने उनको भनाइ थियो । ‘महतगौंडामा सानो समूहमा सलह देखियो । बिहानैदेखि घाम नलागेका कारण त्यस आसपासको क्षेत्रमा अरू पनि कम सक्रिय अवस्थामा रहेको हुन सक्छ,’ कडरियाले भने, ‘यो पाल्पातिर हिजो देखिएको समूहबाटै आएको हुन सक्छ ।’
लमजुङको सुन्दरबजारमा पनि सलह देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले जानकारी दिए ।‘ अहिले ८-१० वटाको समूहमा मात्र देखिएको हो । यति सानो समूहले ठूलो असर गर्न सक्दैन,’ ज्ञवालीले भने, ‘हावाको गति र पानीका थोपाका कारण छुटिएर सानो सलहको संख्या यता आएको हुन सक्छ ।’
सलह रातिमा निस्क्रिय र पानी परेका कारण कम सक्रिय हुने भएकाले पनि अहिले नदेखिएको हुन सक्ने अधिकृत ज्ञवालीको अनुमान छ । ‘मनसुनी हावा, पानीका थोपाका कारण लिडरलाई पछ्याउन नसक्दा पनि आएको हुन सक्छ वा आसपासकै क्षेत्रमा आएर अहिलेसम्म जानकारी नआएको पनि हुन सक्छ,’ अधिकृत ज्ञवालीले भने, ‘फिल्डमा गएर हेर्ने र अन्य ठाउँमा पनि सम्पर्क गर्ने काम गरिरहेका छौं ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4