Comments Add Comment

रौतहटमा दुई जना वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण

बौधीमाई र ईशनाथ नगरपालिका सिल

१४ असार, रौतहट । रौतहटमा दुई जना वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए ।

शनिबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार उनीहरूमा संक्रमण पुष्टि भएको उनले बताए ।

जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरू संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गरी तत्काल कोरोना परीक्षण गरिनुपर्ने माग स्थानीयले राखेका छन् ।

संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नगरक्षेत्रभित्र रहेको विद्यालयमा निर्मित आइसोलेसनमा पठाइएको छ ।

बौधीमाई र ईशनाथ नगरपालिका सिल

रौतहटको दुई वटा स्थानीय तहलाई सिल गरिएको छ । बौधीमाई र ईशानाथ नगरपालिकालाई आइतबारदेखि सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको उनले बताए । क्वारेन्टिन बाहिरका व्यक्तिहरूमा कोरोना संक्रमण देखिनु ठूलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन बौधीमाई र इशनाथ नगरपालिकालाई सिल गर्ने निर्णय भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment