Comments Add Comment

अनि फेरियो सिमकार्ड वितरणको दुई दशक पुरानो व्यवस्था

Photo Credit : gadgetbyte

१४ असार, काठमाडौं । गत माघको अन्तिमसाता नेपाल दूरसञ्चार प्राधिकरणमा रमेश गौतम (नाम परिवर्तन)ले अनौंठो उजुरी गरे । जसमा उल्लेख थियो- ‘मैले चलाइरहेको सिमकार्ड हिजो अटोमेटिक निष्कृय भयो र अरूले नै मेरो नम्बरको सिमकार्ड निकालेर व्यक्तिगत सूचनाहरूमा पहुँच बनाउँदै दुरुपयोग गरिरहेका छन् ।’

विगतमा नयाँ सिम लिएर दुरुपयोग गरेको घटनाहरू भइरहेकै थिए । त्यसपटक भने प्राधिकरणलाई रमेशको उजुरीले झस्कायो । कारण, रमेशको सिम एकाएक डिएक्टिभ गरेर सोही नम्बरबाट कसैले भाइबरलगायतका एपहरू चलाउँदै गरेको प्रमाण फेला परेको थियो ।

प्राधिकरणले नेपाल टेकिलमका प्रयोगकर्ता रमेशलाई भन्यो, ‘प्रहरीको साइबर क्राइम ब्युरोमा पनि उजुरी दिइहाल्नुस् ।’

रमेशको सिमकार्ड उनीसँगै थियो । तर मोबाइलमा राख्दा काम गर्दैन’थ्यो । तर त्यही नम्बरबाट उनका प्रेमिका र साथीहरूलाई म्यासेजहरू आइरहेको थियो ।

दुरुपयोगको उजुरी पर्नासाथ प्राधिकरणले नेपाल टेलिकमसँग जानकारी मागेपछि रमेशको नाममा दर्ता सिम टेलिकमको सुन्धारा कार्यालयबाट निकालिएको पत्ता लाग्यो ।

आजभोलि फोन नम्बरमै आधारित ई-बैङ्किङ हुन्छ । त्यसमाथि रमेश एक निजी बैङ्कमा कार्यरत कर्मचारी थिए । त्यसैले अनधिकृत सिम प्रयोगको असर त्यहाँसम्म पुग्न सक्ने स्पष्टै थियो । प्राधिकरणले तुरुन्तै प्रहरीलाई यसबारे जानकारी गराउँदै छिटो अनुसन्धानको आग्रह पनि गर्‍यो ।

प्रहरी अनुसन्धानबाट खुल्यो- सो सिम उजुरीकर्ता रमेशकै प्रेमिकाको एकजना पुरुष साथीले लिएर दुरुपयोग गरेका रहेछन् । तिनले त्यही सिमबाट भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा पनि पहुँच बनाएका थिए ।

काठमाडौं बाहिरबाट फर्किँदै गर्दा सिमले काम नगरेको कुरा रमेशले प्रेमिकालाई बताएका रहेछन् । र पनि प्रेमिकालाई आफ्नै भाइबर र ह्वाट्सएप एकाउन्टबाट लगातार म्यासेज आइरहँदा रमेश जिल्ल परिरहेका थिए ।

प्रहरी अनुसन्धानबाट तुरुन्तै रहस्य खुल्यो- रमेशकी प्रेमिकाका ती साथी एउटा सेयर ब्रोकर कम्पनीमा कम्प्युटर मर्मत गर्दा रहेछन्, जुन कम्पनीमार्फत रमेश सेयर कारोबार गर्थे । त्यहाँ उनले नागरिकताको प्रतिलिपि ती व्यक्तिले हात पारेका रहेछन् ।

त्यो नागरिकताको प्रतिलिपि लिएर उनले सुन्धाराको टेलिकम कार्यालयबाट सिम निकालेका रहेछन् । टेलिकमको सीसीटीभी फुटेजबाट पनि पुष्टि भयो ।

आफ्नो प्रेम सम्बन्ध तोड्न त्यो सब गरेको भए पनि फेरि गल्ती नदोहोर्‍याउने चेतावनी दिएर रमेशले उजुरी फिर्ता लिएका थिए । प्राधिरकणले भने यो मुद्दालाई गम्भीर रुपमा लियो ।

नागरिकताको फोटोकपी लिएर आउनेलाई नयाँ वा हराएको सिमकार्ड दिने चलनले भविष्यमा गम्भीर अपराध निम्त्याउनसक्ने निष्कर्ष निकालेको प्राधिकरणले गत बिहबारबाट सिमकार्ड दिने २० वर्ष पुरानो तरिका फेरेको छ ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्याल व्यक्तिदेखि राज्यसम्मका सूचनाका सवालमा मोबाइल नम्बरको महत्व बढेकाले सिमकार्ड वितरणको व्यवस्थामा कडाइ गर्नुपरेको बताउँछन् ।

अब सिमकार्ड लिने व्यक्ति आफैँ सक्कली कागजातका साथ उपस्थित हुनपर्नेछ । नयाँ व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

अब राष्ट्रियता खुल्ने आधिकारिक परिचपत्रहरू नागरिकताको सक्कल परिचय पत्र, मतदाता परिचय पत्र, राहदानी वा अन्य परिचयपत्रमध्ये कुनै एकको सक्कल लिएर जानेले मात्रै सिमकार्ड पाउनेछन् । सेवा प्रदायकले सक्कली परिचयपत्रसँग रुजु गरेपछि सिम वितरण हुनेछ ।

ग्राहक स्वयम् उपस्थित हुन नसक्ने भए कानुन बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

यस्तो छ व्यवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment