Comments Add Comment

सलहको उडान : दुई दिनमा कुन-कुन जिल्लामा पुग्यो ?

टास्कफोर्सका सदस्य भन्छन्- सकिन्छ भने खाए हुन्छ !

Photo Credit : रासस

१४ असार, काठमाडौं । शनिबारदेखि नेपाल प्रवेश गरेको सलह किराको उडानको गति हेलिकप्टरभन्दा कम रहेन । सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै नेपाल भित्रिएको सलह दुई दिनयता करिब एक दर्जन जिल्लामा फैलिएको छ । तराईबाट किराहरु पहाडी जिल्लामा समेत चढिसकेका छन् ।

शनिबार बिहान सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै सलह नेपालमा फैलिएको कृषि तथा पशुपंक्षी मन्त्रालयलको भनाइ छ । तर, नेपाल भित्रिएर विभिन्न जिल्लामा उडान भरिरहेको सलहको झुण्ड सानो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मनसुनी वायुमा अचानक आएको परिवर्तनले सलह नेपाल प्रवेश गरेको र यसले हालसम्म कुनै ठूलो क्षती नगरेको कृषि मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

कहाँ-कहाँ फैलियो ?

मन्त्रालयका अधिकारीहरुका अनुसार सुरुमा सर्लाहीको नवलपुरमा ‘ल्याण्ड’ गरेको सलहले त्यहाँ ५ घण्टाजति बसेर अर्को उडान भरेको थियो । सोही दिन बाराको डुमरुवाना र जितपुरमा बसेको सलह त्यहाँबाट अन्यत्र सरेको थियो ।

यस्तै भैरहवाको कालिकानगर क्षेत्रमा बिहानै बसेको सलह किराको समूह दिउँसो भैरहवा गएर दुई समूहमा विभाजित भएको थियो । त्यसको एउटा समूह दिउँसो पाल्पातर्फ र अर्को सैनामैना हुँदै कपिलवतुतर्फ लागेको कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा गठित सलह नियन्त्रण प्राविधिक टास्कफोर्सका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए ।

हुमागाईंका अनुसार शनिबारै दिउँसो २ बजेतिर सिन्धुलीको भिमान पुगेको सलह ४ बजे चियाबारी बसेको थियो । त्यसले भिमानमा कुनै क्षति नगरेको र अहिले पानी परिरहेकाले चियाबारीमै रोकिएको रिपोर्ट स्थानीय तहले मन्त्रालयलाई दिएको छ । रिपोर्ट अनुसार त्यहाँको सलह केही मात्रामा रामेछापतर्फ अघि बढेको छ ।

कृषि मन्त्रालयबाट प्राप्त जानकारी अनुसार पर्साको एक गाउँमा सानो झुण्डमा सलह भेटिएको छ । र, त्यो सलह चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेको छ ।

यस्तै बारामा शनिबार देखिएको सलह अहिले मकवानपुर र काभ्रेको पाल्ढुंगामा आएर बसेको हुमागाई बताउँछन् । उनका अनुसार त्यो समूह जंगलमा बसेको र कृषिबालीमा क्षति गरेको छैन । उता, उदयपुरको सैनामैनातर्फ लागेको सलहले भने बालीमा सामान्य क्षति गरेको रिपोर्ट मन्त्रालयमा आएको उनले बताए ।

हुमागाईले दिएको जानकारीअनुसार पाल्पातर्फ गएको सलहको झुण्ड अहिले दोभान भन्ने ठाउँको रुखको बुट्यानमा बसेको छ । त्यस्तै चितवनमा भरतपुर र कालिका नगरपालिकाको पदमपुरमा पनि सलह देखिएको छ । यो समूह पदमपुरभन्दा अलिमाथिको जंगलमा बसेको छ ।

नेपालमा आएको सलह कस्तो हो ?

नेपालमा पसेको सलहको स-सानो झुण्डका बाँकी झुण्डहरु भारतको बिहारलगायतका ठाउँमा अझै रहेको हुन सक्ने र त्यो पनि प्रवेश गर्न सक्ने मन्त्रालयका अधिकारीहरुको अनुमान छ ।

शनिवार राति बारा, पर्सा, सर्लाही र रुपेन्देहीबाट सलह नेपाल छिरेको र अहिलेसम्म यसको ठूलो भुण्डमा बढीमा २० हजार किराहरु रहेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरिबहादुर केसीले दाबी गरे ।

मन्त्रालयको आएको किरा नष्ट गर्ने र नयाँ किरा आउन सक्ने अवस्था पहिल्याउन विभिन्न विज्ञ निकायसँग छलफल गरिरहेको केसीले जानकारी दिए ।

सलह नियन्त्रण प्राविधिक टास्कफोर्सका प्रमुख हुमागाइँका अनुसार नेपालमा वयश्क र कलिलो वयश्क गरी दुईखाले सलह भित्रिएको पाइएको छ । पहेंलो वयस्क सलह अण्डा कोरल्नका लागि पुनः उपयुक्त ठाउँ मरुभूमिमा नपुगे चाडै नै मर्ने अवस्थाको रहेको र कलिलो वयस्क अझै ४ हप्तासम्म रहन सक्ने उनले विश्लेषण सुनाए ।

सर्लाही, रुपन्देही, पर्सा, बारा लगायतका जिल्लामा देखिएको सलहमध्ये कलिलो वयस्क धेरै रहेको उनले बताए । पहेँलो सलह तत्काल राजस्थान जस्तो मरुभूमिमा पुग्न नपाए छिट्टै मर्ने पनि दाबीसमेत गरे ।

मौसमको प्रतिकुलताका (पानी परिरहेका) कारण नेपालमा आएका किराहरु लामो समय एकै ठाउँमा बसेर नोक्सानी गर्न सकेको हुमाँगाइको भनाइ छ । बेलुकापख रुखमा बास बस्ने र बिहान घाम लागेपछि हरियो बालीमा बस्ने गरेको उनको भनाइ छ । तत्काल नोक्सान नगरे पनि ढुक्क हुने अवस्था भने नरहेको उनले बताए ।

तीनै तहको संयन्त्र परिचालन

सलहको आगमन र अवस्था तथा त्यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहलाई परिचालन गरिसकेको मन्त्रालयले जनाएको छ । संघीय तहबाट सलह नियन्त्रण टास्कफोर्समार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यरत प्राविधिक जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै गृह मन्त्रालय माताहतको विपत्त व्यवस्थापन प्राधिकरणलाई तयारी अवस्थामा राखिएको प्रवक्ता केसीले बताए ।

यसैगरी प्रदेश सरकार मातहत रहेको देशैभरको कृषि ज्ञान केन्द्र र सबै स्थानीय तहमा रहेका कृषिका प्राविधिक जनशक्ति सलहबिरुद्ध परिचालन गराइएको मन्त्रालयले जनाएको छ ।

केन्द्रीय सरकारले जस्तै सलह नियन्त्रण टास्क र्फोस बनाएर प्रदेशहरुले पनि आफ्नो क्षेत्रमा जनचेतना तथा किरा नियन्त्रणका लागि आवश्यक उपायबारे तयारी थलिसकेको मन्त्रालयले जनाएको छ ।

ठूलो भुण्डको डर

मन्त्रालयका अधिकारीहरु सलहको मिहीन अध्ययन गरिरहेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि को क्षेत्रीय कार्यलय थाइल्याण्डसँग सम्पर्कमा रहेको बताउँछन् । सलहको बाटो ट्र्याकिङ गरिररहेको एफएओको पछिल्लो विवरणअनुसार भारतको नयाँदिल्लीतर्फ सलहको ठूलो झुण्ड अघि बढिरहेको प्राविधिक समितिका संयोजक हुमागाइँले सुनाए ।

त्यस्तै राजस्थानबाट दिल्लीतर्फ अघि बढेको ठूलो झुण्ड हावाको वेगसंगै नेपामलसम्म आयो भने जोखिम बढ्ने उनले बताए । अझै केहीदिनसम्म हावाको वेग पश्चिमबाट उत्तरपूर्वसम्म बहेका कारणले नेपालको बाँके, बर्दिया वा सुदुरपश्चिम भएर नेपालमा सलह पस्न सक्ने जोखिम रहेको उनले बताए ।

आवश्यक परे दमकलको प्रयोग

हाल नेपालमा देखिएको सलह एकदमै छोटो समय मात्रै एकैठाउँमा बसेको र हानी कम गरेका कारण विषादी छर्कन समस्या भएको मन्त्रालयले जनाएको छ । किराको झुण्ड बढ्ने अवस्था तथा क्षति हुन थालेमा ट्याक्टरमा ठूला ड्रममा विषादी बोकेर छर्नेदेखि दमकलले विषादी हान्नेसम्मको योजना बनाइएको मन्त्रालयका अधिकारीहरुले सुनाए ।

तत्कालका लागि गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग रहेका त्यस्ता सामाग्रीको विवरण संकलन गरेर तयारी अवस्थामा राख्न आग्रह गरिसकेको प्रवक्ता केसीले बताए ।

यस्तै विषादी व्यवसायीसँग पनि विषादीको उपलब्धता तथा मौज्दातबारे छलफल भइसकेको मन्त्रालयले जनाएको छ ।

टास्कफोर्सका सदस्य भन्छन्- सकिन्छ भने खाए हुन्छ

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलह खसीको मासु भन्दा पनि पोसिलो भएको दाबी गरेको छ । साथै कुखुराको दानका रुपमा प्रयोग गरेर पनि यसलाई नियन्त्रणमा लिन सकिने केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्य बताउँछन् ।

सलह नियन्त्रण टास्कफोर्सका सदस्य समेत रहेका उनले भने ‘खसी, बंगुर, वा अन्य मासुभन्दा सलह पोसिलो हुन्छ, सकिन्छ भने नियन्त्रणमा लिएर खाए हुन्छ नभए कुखुराको दाना पनि बनाउन सकिन्छ ।’

सलह समाएर बुझाउनेलाई प्रदेश सरकारले घोषणा गरेको प्रतिकिलो रकम बढाएर पाँच सय पुर्‍याउने हो भने सर्वसाधरणबाटै सलह नियन्त्रणका लागि ठोस काम हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment