Comments Add Comment
विचार :

‘जबजमा कसैले नाकनिक नगरौं, यो नेकपाको विचार हो’

‘आज पनि हामी जनताको बहुदलीय जनवादबाटै निर्देशित भइरहेका छौं’

जननेता मदनकुमार भण्डारीको जन्मदिनमा उहाँलाई स्मरण गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अबको वैचारिक बाटो कुन् हो भन्ने पनि बुझ्नुपर्छ । हामीले मदन भण्डारीको योगदानको मुल्याङ्कन गर्ने हो भने जनताको बहुदलीय जनवादको रक्षा नै यो पार्टीको उद्देश्य हुनुपर्छ ।

पछिल्लो पटक जेठ ३ गते मदन आश्रित स्मृति दिवसका अवसरमा हाम्रा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको वक्तव्यमा जनताको बहुदलीय जनवादको स्वीकार्यता र जननेता मदन भण्डारीको योगदानको बारेमा जसरी उल्लेख भएको छ, यसले अबको हाम्रो नीति र नेतृत्वको बारेमा बुझ्न सजिलो हुन्छ ।

मदन भण्डारीको जन्मजयन्तीको यस अवसरमा उहाँसित सम्बन्धित कतिपय विषयहरूको बारेमा जब हामी छलफल गर्छौं, एउटा सामग्रिक रुपमा हामीले छलफल गर्नुपर्छ । त्यो छलफल गरिरहँदा एउटा महत्वपूर्ण कुरा विचारको विषय नै हो । उहाँले वकालत गरेको विचारकै जगमा हाम्रो कम्युनिस्ट पार्टी यहाँसम्म आइपुगेको हो ।

अर्को कुरा त उहाँको व्यक्तित्वसँग गाँसिएका पनि धेरै कुरा छन् । तर म यहाँ विचारसँग गाँसिएका विषय बुझाउन चाहन्छु । मदन भण्डारीसित गाँसिएर नेपालको कम्युनिस्ट आन्दोलनका विद्यार्थीहरूले जनताको बहुदलीय जनताको बहुदलीय जनवादसित गाँसेर बुझ्छन् । मदनले लिएको विचारको कुरा गरिरहँदा जबजलाई नै बुझिन्छ । जबजका बारेमा बुझ्नुपर्छ ।

जनताको बहुदलीय जनवाद भन्न कसलाई सहज हुन्छ, कसलाई हुन्न म जान्दिनँ । तर मदन भण्डारी र जबज नै हाम्रो कम्युनिस्ट पार्टीको सम्पत्ति हुन्। आज पनि हामी जनताको बहुदलीय जनवादबाटै निर्देशित भइरहेका छौं

जबज हिजो तत्कालीन नेकपा मालेको उत्तरार्धकालमा प्रारम्भ भएको विचार हो । मालेले २०४६ सालको चौथो महाधिवेशन गरिरहँदा आफ्नो कार्यक्रममा अब कम्युनिस्ट पार्टीले आफूलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्थामा लानुपर्छ भनेर उल्लेख गरेको थियो ।

त्यो कार्यक्रमको रुपमा औपचारिक रुपमा आयो, जुन महाधिवेशनबाट मदन भण्डारी तत्कालीन नेकपा मालेको महासचिव चुनिनुभयो । औपचारिक रुपमा त्यो विचार त्यहाँ सार्वजनिक भएको हो । त्यसपछि तत्कालिन माले र मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बन्यो ।

एमालेको पाँचौं महाधिवेशन २०४९ मा हुनुभन्दा पहिले पनि नवगठित एमालेमा विचारको बहस छलफल हुँदा कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद भनेर उहाँले नै अघि सार्नुभएको हो । उहाँले एउटा आर्टिकल लेख्नुभयो । त्यो आर्टिकल पुस्तिकाको रुपमा प्रचार विभागले छाप्यो र त्यसले पार्टीमा बहस छलफल गरायो ।

नौलो जनवाद हाम्रो लाइन हुँदाहुँदै बहुदलीय जनवाद भनेर किन आयो ? भन्ने प्रश्नहरू पनि उठे । पछि त्यही विचार थप व्याख्या विश्लेषणसहित जनताको बहुदलीय जनवादको कार्यक्रमको रुपमा पाँचौं महाधिवेशनमा प्रस्तुत भयो ।

पछिल्लो समयमा हामी त्यही विचारमा छलफल गर्दै जाँदा त्यो हाम्रो सम्पूर्ण विचार र कामलाई गाइड गर्ने, मार्क्सवादलाई नेपालको विशिष्ठतामा सिर्जनात्मक प्रयोग गर्दा विकसित भएको विचारको रुपमा अगाडि सार्‍यौं हामीले ।

यसका तीनवटा आधार छन् । एउटा आधार भनेको नेपालको कम्युनिस्ट आन्दोलनको परिप्रेक्ष्यनै हो । दोस्रो भनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवहरू यसका आधार हुन् । तेस्रोचाहिँ कम्युनिस्टहरूले बोकेको दर्शन र सिद्धान्त यसको महत्वपूर्ण आधार हो । यी तीन आधारमा जबज खडा भएको छ ।

सबैभन्दा पहिले २००६ साल वैशाख १० गते कम्युनिस्ट पार्टीको पहिलो पर्चा भनेर निस्केको छ । त्यो पहिलो पर्चामै जबजका भ्रूणहरू छन् । त्यो के हो भने निरंकुशताको विरोध,राजनीतिक स्वन्त्रता, दलहरूमाथिको प्रतिबन्ध हट्नुपर्ने,अधिनायकवादको विरोध आदि इत्यादी कुरा त्यो पहिलो पर्चामा थिए ।

हामी नेपालका कम्युनिस्टले प्रजातान्त्रिक शासन प्रणालीको परिकल्पना गरेको स्थापनाकालमै हो । जनताको बहुदलीय जनवादको भ्रूण पनि त्यही हो । जसलाई मदन भण्डारीले संस्थागत गर्नुभयो । २००७ सालमा कम्युनिस्ट पार्टीले आन्दोलनमा भाग लियो, २००८ सालमा स्थानीय चुनावमा आफ्ना उम्मेदवार नै उठायो ।

त्यो चुनावमा पहिलो महिला निर्वाचित प्रतिनिधि साधना अधिकारी कम्युनिस्ट पार्टीकै हुनुहुन्थ्यो । नेकपामाथि प्रतिबन्ध लाग्दा पनि विभिन्न आवरणका जनसंगठन बनाएर स्वतन्त्रताको आन्दोलन गरेको हो । २०१५ सालको संसदीय निर्वाचनमा भाग लिएर नेकपाले ४ सिट जित्यो,२०/२१ ठाउँमा दोस्रो स्थानमा आएको हो ।

पञ्चायतकालमा पनि नेपालका कम्युनिस्टहरूको विभिन्न धारबाट क्रियाशील हुँदा पनि निरंशकुशताको विरोध र राजनीतिक स्वतन्त्रताको आन्दोलन लडेकै हो । यी सबै पृष्ठभूमि किन भनिएको हो भने, जबज फुत्त आएको विचार थिएन । यसको आफ्नो ऐतिहासिक क्रोनोलोजिकल लिगेसी छ ।

स्वयं मदन भण्डारीले पुष्पलालले अघि सारेका विचारहरू यो जनताको बहुदलीय जनवादका आधार हुन् भन्नुभएको छ । हाम्रो मौलिकतामा विकसित भएको विचार हो यो । यो जबज तत्कालीन नेकपा एमालेको मात्र पेवा होइन ।

दोस्रो कुरा, संसारभर कम्युनिस्ट सत्ताहरू धराशायी हुँदै थिए । एकपटक लोकप्रिय भएका कम्युनिस्टहरू जनताबाटै किन तिरस्कृत भए ? मदन भण्डारीले त्यसको निर्मम ढंगले समीक्षा गर्नुभयो । त्यस्तो बेला जनताको बहुदलीय जनवाद अघि सार्दा कम्युनिस्टहरू आवधिक रुपमा जनताबाट अनुमोदित भइरहनुपर्छ भन्नुभयो । त्यो नभएका ठाउँमा सत्ताहरु ढले ।

तेस्रो कुरा चाहिँ मदन भण्डारीले के भन्नुभयो भने दर्शन र सिद्धान्तले यसलाई पुष्टि गर्नुपर्छ । जस्तो के भने, द्वन्द्व सर्वत्र छ । प्रकृतिमा छ,मानव समाजमा छ,राजनीतिमा छ र राजनीतिक प्रणालीमा छ । सबैतिर द्वन्द्व त । द्वन्द्व सबै ठाउँमा छ भने यसलाई या त दबाएर राख्नुपर्‍यो ।

त्यो थिचेर राख्नेबित्तिकै बिष्फोट हुन्छ । किचाहिँ विधिसम्मत ढंगले द्वन्द्वलाई प्रकट हुन दिनुपर्छ । यो हाम्रो कम्युनिस्ट पार्टीले स्वीकार गरेको दर्शन र सिद्धान्तले यही कुरा भन्छ । द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन देऊ। हो यही दर्शन र सिद्धान्तका आधारमा जबज बनेको हो ।

यो कुनै तत्कालीन एमाले वा मालेका पालामा आएको भन्नु पर्दैन । अहिले नेकपा छ, हामीले मान्नुपर्दैन भन्नु जरुरी छैन । हिजोको एमालेको लिगेसी बोकेको छ भनेर अहिले नेकपाका नेता कार्यकर्ताले जबजप्रति नाकनिक गर्छन् भने त्यो दुर्भाग्य हो । हामी नेपालका कम्युनिस्ट जनताको बहुदलीय जनवादबाट निर्देशित भएरै चल्ने हो, यसमा दुविधा कसैले राख्न हुन्न ।

सिद्धान्त र विचार भनेको गतिहीन हुँदैन । परिस्थितिमा आएको परिवर्तन सँगसँगै त्यो विकसित हुँदै जान्छ । पाँचौं महाधिवेशनमा कार्यक्रमको रुपमा आएको जबज नवौं महाधिवेशनसम्म आइपुग्दा मार्गनिर्देशक सिद्धान्तका रुपमा विकास भएको हो नि । पार्टी एकतापछि निस्किएका हाम्रा विभिन्न दस्तावेजको समीक्षा हुनु जरुरी पनि छ ।

हाम्रो विशिष्ठतामा जनताको बहुदलीय जनवादले बोकेका चिजहरूबाटै नेकपा निर्देशित हुनुपर्छ । त्यसका अन्तरवस्तुहरू जुन छन्, त्यहीबाट निर्देशित हुनुपर्छ । जबजले कम्युनिस्ट पार्टी निर्माणमा निश्चित सिद्धान्तलाई अघि सारेको छ । अबको अवस्थामा कम्युनिस्ट पार्टी सरकारमा गएपछि शासन सञ्चालन गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर निश्चित कुरामा निर्देशित गरेको छ।

जनताको बहुदलीय जनवाद भन्न कसलाई सहज हुन्छ, कसलाई हुन्न म जान्दिनँ । तर, मदन भण्डारी र जबज नै हाम्रो कम्युनिस्ट पार्टीको सम्पत्ति हुन् । आज पनि हामी जनताको बहुदलीय जनवादबाटै निर्देशित भइरहेका छौं । हाम्रा विचार, कामहरू त्यही विचारबाट निर्देशित छन् । भन्न कतिपयलाई अप्ठ्यारो लागे पनि त्यसले केही अर्थ हुन्न ।

यो विचार, मदन भण्डारीसँग गाँसेर मात्रै बुझ्नुहुन्न । नेपालको कम्युनिस्ट आन्दोलनको प्रारम्भदेखिको ऐतिहासिक विकासक्रमसँग गाँसिएको विचार हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवको विश्लेषणबाट स्थापित भएको विचार हो । कम्युनिस्ट पार्टीको दर्शन र सिद्धान्तको सारभूत कुरालाई बोकेको हुनाले जबजबाटै नेकपा निर्देशित छ ।

नयाँ परिवेशमा नयाँ कुरा जोडिन्छन् । सिद्धान्त जड हुन सक्दैन । गतिमा मात्रै सिद्धान्तको जीवन हुन्छ । जबज पनि हिजो एक समयमा जे सूत्रबद्ध थियो त्यतिमात्र होइन । नयाँ आयामहरूलाई सम्बोधन गर्ने हिसाबले विकसित हुँदै अगाडि बढ्छ। मदन भण्डारीसँग गाँसिएको यो विचारको मूल पक्षलाई कमजोर बनाएर मदन भण्डारीकोमात्र बखान गरेर केही हुँदैन ।

मदन भण्डारीलाई सम्झने भनेकै जबज हो । यसबाहेक मदन भण्डारीको देशभक्तिपूर्ण आन्दोलनको पाटो त छँदैछ । प्रगतिशील राष्ट्रवादको झण्डा उठाउने पहिलो व्यक्ति नै मदन भण्डारी हुन् । नत्र नेपालमा राष्ट्रवाद भन्नेबित्तिकै निरंकुश शासकले भन्ने कुरामा थियो । योबाहेक लोकतान्त्रिकीकरणको नेतृत्व त उहाँले गरिहाल्नुभयो । मदन भण्डारीले छोटो समयमा नेपालको वामप्रजातान्त्रिक आन्दोलनमा दिनुभएको अतुलनीय योगदानलाई सम्झना गर्दै नेकपाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अबको यात्रा तय गर्नुपर्छ ।

जबजमा कसैले नाकनिक नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment