Comments Add Comment

दैनिक १० हजार पीसीआर टेस्ट गर्ने स्वास्थ्यमन्त्रीको दाबी फेल

१५ असार, काठमाडौं । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ ।

पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो दाबीमा चुकेका छन् ।

आज असार १५ गते देशभरका २२ वटा प्रयोगशालामा ७ हजार ७९१ नमुना मात्र परीक्षण भएको छ । अझ पछिल्ला केही दिनमा त दैनिक पीसीआर नमुना टेस्टको संख्या घटेर ४/५ हजार आसपासमा पुगेको थियो ।

सचिव भन्छन् : प्रयास गर्दागर्दै सकिएन त के गर्नु ?

मन्त्री ढकाल मात्र होइन, हालै मात्र स्वास्थ्यमा गएका सचिव लक्ष्मण अर्यालले पनि पीसीआर टेस्टको दायरा बढाउने घोषणा गरेका थिए । उनी मन्त्रालयमा हाजिर हुँदा दैनिक ३÷४ हजार हाराहारीमा नमुना परीक्षण हुन्थ्यो । उनले परीक्षणको दायरा बढाउन अटोमेटेड पीसीआर मेसिन ल्याउने निर्णय गरे ।

६ असारमा स्वास्थ्यमन्त्री समेत उपस्थित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अर्यालले भनेका थिए, ‘असार १५ गतेसम्म हामी १० हजार परीक्षण कटाउने लक्ष्यमा पुग्छौं ।’

तर त्यसो भएन । किन दैनिक १० हजार पीसीआर टेस्ट गर्न सकिएन त भन्ने प्रश्नमा सचिव अर्यालले भने, ‘विज्ञ टोलीले दिएको सुझावअनुसार काम हुन सकेन ।’

उनका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बु र सैनिक अस्पताल छाउनीमा असार १५ अघि पीसीआर टेस्ट सुरु गर्ने भनिए पनि त्यसअनुसार काम भएन । ‘सेना र प्रहरीको ल्याब समयमै सञ्चालनमा आएको भए हाम्रो लक्ष्य पूरा हुन्थ्यो’ अर्यालले भने, ‘निजी ल्याबहरूमा परीक्षण सुरु नभएकाले पनि लक्ष्य भेट्न सकेनौं ।’

दुईवटा पीसीआर मेसिन खरिद गरेर ल्याउन नसक्दा पनि समस्या थपिएको सचिव अर्याल बताउँछन् । ‘यहाँकोे पनि कहिले मेसिन बिग्रने रहेछ, कहिले रि–एजेन्ट सकिने रहेछ, प्रयास गर्दागर्दै सकिएन त के गर्नु ?’ उनले भने, ‘तर अबको केही दिनमा हामी दैनिक १० हजार परीक्षण गर्ने लक्ष्यमा पुग्छौ ।’

ढाँटेको कुरा काटे मिल्दैन

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको तर्क भने सचिवको भन्दा फरक छ । क्वारेन्टिनमा बसेका मानिसहरूको संख्या २ लाखबाट घटेर ६० हजारमा झरेकाले दैनिक १० हजार परीक्षण गर्नै नपर्ने उनको दाबी छ । उनले अघि भने, नमुना भए पो परीक्षण गर्ने ? खोइ कहाँ छन् नमुना ?’

एउटा नमुनाको पीसीआर टेस्ट गर्दा ५०००/५५०० रुपैयाँ खर्च हुने उनले बताए । भन्छन्, त्यति धेरै खर्च किन गर्ने ? आवश्यक परेकालाई त टेस्ट गरिरहेका छौं ।’

तर अवस्था उनले भने जस्तो छैन । उनले परीक्षण गर्नको लागि नमुना अभाव भइरहेको बताइरहँदा १ महिनादेखि रिपोर्ट नआएर डोटीको के आई सिंह नगरपालिकामा ३० दिनदेखि २७ जना क्वारेण्टिनमै बसिरहेका छन्।

सरकारी तथ्यांकअनुसार देशभरका प्रयोगशालामा २० हजारभन्दा बढी नमुना होल्ड भएका छन् ।

यो विषयमा सोध्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतम भन्छन्, ‘सानोतिनो प्राविधिक समस्या आएर ढिलो भयो होला, यो कुनै ठूलो समस्या होइन ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले पनि दैनिक १० हजार स्वाब परीक्षण गर्ने क्षमता रहेको दाबी गरे । अहिले सञ्चालनमा आएको र एकदुई दिनभित्र सञ्चालनमा आउने प्रयोगशालाबाट प्रतिदिन कम्तीमा १० हजार ४८६ जनाको पीसीआर परीक्षण गर्न सकिने क्षमता हुने उनले बताए ।

देशभरका प्रयोगशालामा दैनिक १० हजारभन्दा धेरै नमुना परीक्षण गर्न सक्ने बताउँदै उनले भने, ‘निजीले स्विकृति पाएपछि क्षमता झन बढ्छ ।’

के भन्छन् विशेषज्ञ ?

टेस्ट कम हुँदा नेपालमा कोरोना संक्रमण कुन चरणमा पुगेको छ भन्ने यथार्थ जानकारी छैन । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी समुदायमा संक्रमण फैलिने संकेत मिलिरहेको बेला परीक्षणको दायरा घट्नु घातक रहेको बताउँछन् ।

‘प्रोटोकल भनेको सम्भावित संक्रमित नछुट्ने हुनुपर्छ । तर यहाँ त सकेसम्म संक्रमित छुटुन्, टेस्ट गर्नै नपरोस् भनेर गाइडलाइन बनाइएको छ’ उनी भन्छन्, ‘यो अवस्थामा पनि कोरोना परीक्षण गर्नको लागि खोकी पनि लाग्नैपर्ने, सास फेर्न पनि गारो हुनैपर्ने अनि सँगसँगै संक्रमितसँको सम्पर्कमा आएको वा संक्रमण फैलिएको हुनैपर्ने किसिमको प्रोटोकल बनाउनुको मतलब के ?’

सरकारले जेठको तेस्रो साता ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बनाएको थियो, जसमा कोरोनाको कुनै लक्षण नभएका, ट्राभल हिस्ट्री नभएको र आफैँ परीक्षण गराउन पुग्नेहरू परीक्षणको प्राथमिकतामा राखेको छैन ।

प्रोटोकलको अधिकांश बुँदाहरूमा बिरामीलाई रुघाखोकीको लागेको वा ज्वरो आएको हुनुपर्ने उल्लेख छ । श्वासप्रश्वासमा समस्या भएको वा ज्वरो आएको छ भने पनि संक्रमण फैलिएको क्षेत्रबाट फर्किएको १४ दिन भएको हुनुपर्ने भनिएको छ । त्यसबाहेक कोरोनाको अन्य लक्षण भए तापनि ज्वरो आएको वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई मात्र पीसीआर टेस्ट गर्ने भनिएको छ ।

जीवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार कोरोना संक्रमण देखिएका एक तिहाइ मानिसलाई सुरुवाती चरणमा लक्षण देखिँदैन । त्यसैगरी सबै संक्रमितलाई सुरुवाती चरणमा ज्वरो आउँछ भन्ने छैन । संक्रमितमा लक्षण देखिएको खण्डमा सुरुमा ४४ देखि ९८ प्रतिशतलाई मात्र ज्वरोको लक्षण देखिन्छ । रुघाखोकी ४६ देखि ८२ प्रतिशत संक्रमितलाई देखिन्छ भने श्वासप्रश्वासमा समस्या ३१ प्रतिशत संक्रमितलाई मात्र हुन्छ । त्यस्तै, थकान र जिउ गल्ने ११ देखि ४४ प्रतिशत संक्रमितलाई मात्र हुन्छ ।

‘यो जान्दाजान्दै अवैज्ञानिक प्रोटोकललाई आधार मान्दै जाँच गर्नको लागि नमुना छैन भन्नुको कुनै अर्थ छैन’ डा. खड्का भन्छन्, ‘यसको मतलब हाम्रो समुदायमा संक्रमित भए पनि टेस्टको अभावले पत्ता लगाउन सकिएको छैन ।’

देशका विभिन्न ठाउँका क्वारेन्टिनमा कुनै पनि लक्षण नदेखिएको तर घर पुगेपछि मृत्यु भएका केस देखिँदै आएको छ । मृतकको मात्र होइन, संक्रमित भएकाहरूको समेत संक्रमणको स्रोत पत्ता लगाउन सकिएको छैन । यस्तो अवस्थामा सम्भावित संक्रमित नै छुट्न सक्ने डाक्टर सुवेदी बताउँछन् ।

उनले अघि भने, ज्वरो, रुघाखोकी वा श्वास–प्रश्वासमा समस्या हुनेमध्ये कुनै एउटा लक्षण देखिएकालाई मात्र जाँच गर्ने हो भने धेरै संक्रमितहरू भेटिन्छन् ।’

यो पनि पढ्नुहोस नेपालमा कोरोना समुदायस्तरमा फैलिएको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment