Comments Add Comment

साउदीमा नेगेटिभ, खोटाङमा पोजेटिभ ! रुपाकोटमा सिलबन्दी

१५ असार, काठमाडौं । कोरोना संक्रमितहरु भेटिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का केही स्थानहरु अनिश्चितकालका लागि सिल गरिएका छन् ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि वडा नम्बर २ को अलछेढुंगा हुँदै बेंसी टोल नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्म दायाबाँया १०० मिटरभित्र पर्ने क्षेत्र/बस्ती सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले जानकारी दिए ।

सहायक प्रजिअ राईले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि उक्त क्षेत्रमा आवत–जावतमा पूर्णरुपमा बन्देज लगाउने निर्णय भएको छ । दिक्तेल बजारमा बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म अत्यावश्यक खाद्यान्न तथा तरकारीको पसलहरु मात्र खुला गरी अन्य व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेका छौं ।’

उनका अनुसार दिक्तेत बजारभित्र कुनै पनि निकायहरुबाट घरघरमा पुगेर दिने सेवा वा घुम्ती सेवासमेत बन्द गर्ने निर्णय भएको छ ।

स्थानीय प्रशासनका अनुसार सो नगरपालिकामा कुल चारजना संक्रमित फेला परेका छन् ।

एकजना साउदी अरेबियाबाट पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएका थिए । रुपाकोट आएपछि पाँच दिनपछि उनको आरडीटी जाँच गरिएको थियो, त्यसमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । तर, उनीबाट संकलन गरिएको स्वाबबाट पीसीआर जाँच गराउँदा पोजेटिभ रिपोर्ट आयो । र, गाउँमा त्रास बढेकाले सिलबन्दी गर्नुपरेको हो ।

त्यसैगरी रुपाकोटमा भारतबाट एकजोडी श्रीमान् श्रीमती फर्किएका थिए । श्रीमती गर्भवती भएका कारण होम क्वारेन्टाइनमा पठाइएको थियो । उनीहरुको पनि पीसीआर जाँच गराउँदा श्रीमतीको रिपोर्ट पोजेटिभ देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

नगरपालिकाका हेल्थ एसिस्टेन्टका खेम आचार्यका अनुसार दिक्तेल रुपाकोट मझुवागढीमा साउदी अरबबाट आएका ३८ वर्षीय पुरुष, भारतबाट आएकी २८ वर्षीय गर्भवती महिला, कुवेतबाट आएकी २५ वर्षीय एक जना महिला, भारतबाट आएका १८ वर्षीय एक युवकमा संक्रमण पुष्टि भएको हो । एक जना संक्रमित भने ऐंसेलुखर्क गाउँपालिका हुन् ।

साउदी अरबबाट आएका ३८ वर्षीय पुरुष असार ६ गते क्वारेन्टिनमा बसेको भएपनि उनी असार ११ गते घर गएका उनले बताए । उनले भने, ‘साउदी अरबबाट आउँदा नै उहाँले पीसीआर परीक्षणको रिपोर्ट ल्याउनु भएको रहेछ । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएका कारण हामीले आरडीटी परीक्षण गराएका थियौं । त्यो रिपोर्ट पनि नेगेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर असार ११ गते घर पठाएका थियौं । तर उहाँको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’

त्यस्तै भारतबाट आएर सिधै होम क्वारेन्टिनमा बस्ने गरी घर गएका श्रीमान र श्रीमती मध्ये श्रीमतीमा संक्रमण पुष्टि भएको छ । आचार्यले भने, ‘उनीहरुको घरमा दुई जना मात्रै बस्ने भएका कारण होम क्वारेन्टिनमै बस्ने गरी घर पठाएका थियौं । गर्भवती पनि भएका कारण उनलाई होम क्वारेन्टिनमै सहज हुने देखिएपछि पठाएका थियौं । श्रीमान–श्रीमती दुवै जनाको पीसीआर परीक्षण गरिएको भएपनि श्रीमतीमा मात्रै संक्रमण पुष्टि भएको छ ।’

आचार्यका अनुसार संक्रमण पुष्टि भएका अन्य व्यक्तिहरु भने स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका थिए ।

भारत लगायत बाह्य मुलुकबाट आई क्वारेन्टिनमा नबसेका दुई जनामा संक्रमण पुष्टि भएपछि जोखिम न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले सो नगरपालिकाको वडा नम्बर २ को केही क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment