Comments Add Comment

प्रदेश ५ मा ४७ प्रतिशत धान रोपाइँ, सबैभन्दा धेरै प्युठानमा

१६ असार, बुटवल । प्रदेश ५ मा सोमबारसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १५ गतेसम्मको तथ्यांक अनुसार ४७.०५ प्रतिशत धान रोपाइँ भएको हो ।

प्रदेश ५ का १२ जिल्लामध्ये प्युठानमा सबैभन्दा बढी ९६.१३ प्रतिशत र गुल्मीमा सबैभन्दा कम १९.६८ प्रतिशत रोपाइँ भएको छ ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी भीमनाथ शर्माका अनुसार नवलपरासी पश्चिममा ८४.०६ प्रतिशत, रुकुम पुर्वमा ७३.०५ प्रतिशत, रोल्पामा ५८.६३ प्रतिशत रोपाइँ भएको छ । यस्तै रुपन्देहीमा ५६.२९ प्रतिशत, बर्दियामा ५४.८२ प्रतिशत, कपिलवस्तुमा ४० प्रतिशत, बाँकेमा ३७.९६ प्रतिशत, अर्घाखाँचीमा २७.९२ प्रतिशत, दाङमा २६.७६ प्रतिशत र पाल्पामा २१.९१ प्रतिशत रोपाइँ भएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

प्रदेश ५ मा ३ लाख ३४ हजार ६ सय ७५ हेक्टर खेतमा धान खेती हुन्छ । गत वर्ष ९०.०२ प्रतिशत खेतमा धान रोपाइँ हुँदा १२ लाख ५३ हजार ८९ मेट्रिक टन धान उत्पादन भएको उनले बताए । पछिल्ला तीन दिनमा लगातार मनसुनी वर्षा परेकाले सिंचाइको सुविधा नपुगेका स्थानमा पनि धमाधम धान रोपाइँ भएकाले तीन दिनमै १३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले बताए ।

प्रदेश सरकारले चक्लाबन्दी खेती गर्नेलाई अनुदानको व्यवस्था गरेको र गत वर्षभन्दा मलको उपलब्धता पर्याप्त भएकाले यस वर्ष धान उत्पादन बढ्न सक्ने अनुमान गरिएको देवकोटाले बताए ।

जनउत्थान सहकारीले शुरु गर्यो चक्लाबन्दी खेती

यसैबीच वचत तथा ऋणको कारोबार गर्दै आएको रुपन्देहीको एक सहकारीले सामूहिकरुपमा चक्लाबन्दी खेती शुरु गरेको छ । तिलोत्तमाको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वडा नंं. १४ सुपौलीमा २७ बिघा खेतमा सामूहिक धान खेती शुरु गरेको हो ।

सुपौली गाउँंमा २ कठ््ठादेखि डेढ बिघासम्म जग्गा भएका सहकारीका ४७ जना सदस्यको खेतमा सहकारीले पहिलोपटक सामूहिक चक्लाबन्दी खेतीको शुरुवात गरेको हो ।

प्रदेश ५ कै धेरै (१९ हजार ३ सय १७ जना) शेयर सदस्य भएको सहकारीले सुपौलीलाई ‘जनउत्थान कृषि गाउँ’ नै घोषणा गरेको छ । २७ बिघालाई तीनवटा ब्लकमा बाँडेर खेती गरिएको छ । सहकारीले बीउ उत्पादन गर्ने लक्ष्यसहित ७ बिघामा बिउका लागि र बाँकीमा चामलका लागि धान रोपेको सहकारीका व्यवस्थापक रनबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment