
१७ असार, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफूहरुले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
साथै सबैलाई सावधान रहनका पनि आग्रह गरेका छन् । उनले समयमा नै सावधानी नअपनाउने हो भने अवस्था एक महिनाअघिको जस्तै हुन सक्ने चेतावनी दिएका छन् ।
बुधबार भिडियो सम्बोधन गर्दै उनले दिल्लीमा कोरोना भाइरसको महामारी शुरुमा सोचिएको जस्तो भयावह अवस्था नरहेको बताए । अहिलेको परीक्षणमा पहिलाको जस्तो धेरै संक्रमित फेला नपरेको र संक्रमितहरु पनि छिटै नै निको भएर घर फर्किरहेको पनि उल्लेख गरे ।
उनकाअनुसार दिल्लीमा जुन १ मा एक्टिभ केस ६० हजार हुने अनुमान गरिएको थियो भने जुन अन्तिमसम्म संक्रमितको संख्या एक लाख नाघ्नसक्ने अनुमान गरिएको थियो ।
अहिलेसम्म दिल्लीमा ८७ हजार संक्रमित फेला परेका छन् । र, उनीमध्ये ५८ हजार मानिस निको भइसकेका छन् । मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य कमी आएको छ ।
पहिला एक सय मानिसमा कोरोना भाइरसको परीक्षण गर्दा ३१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि हुने गरेको थियो । तर अहिले संक्रमित पुष्टि हुनेको संख्या १३ मा झरेको छ ।
यस्तै दिल्लीमा कुनै समय साढे एक सय मानिसको कोरोना भाइरसको कारण मृत्यु हुन थालेको थियो । तर अहिले यो संख्या आधा अर्थात् ६०-७० मा झरेको र यसलाई अझै कम गर्दै लैजाने केजरीवालले बताए ।
यद्यपि अझै पनि दिल्ली पूर्णरुपमा खोल्न नसकिने र सुरक्षा सतर्कता अपनाउनु जरुरी रहेको मुख्यमन्त्री केजरीवालले बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया 4