Comments Add Comment

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

आफ्नै क्याबिनेटका मन्त्री आफैंविरुद्धको बैठकमा सहभागी

१७ असार, काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् ।

बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका थिएनन् ।

अहिले असाधारण परिस्थिति आएकाले यस्तो परिस्थितिमा पार्टीको बहुमतले गर्ने निर्णय सबैले मानेर अघि बढ्नुपर्ने गृहमन्त्री थापाले झम्सिखेलको छलफलमा धारण राखेको सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

पार्टीको उद्देश्य समाजवादसम्म जाने भएकाले सबैले विधि-पद्दति अनुसार चल्नुपर्ने बादलले बैठकमा बताए । साथै उनले अहिलेको सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताहरु बताउँछन् । पूर्वमाओवादी समूहका एक नेताले भने, ‘आज बादलजी खुल्नुभयो । झम्सिखेल बैठकमा सहभागीमात्र हुनुभएन, बोल्नु पनि भयो ।’

आफूहरु मन्त्री पदमा भएकाले सुरुमा प्रधानमन्त्रीको विपक्षमा खुल्न अप्ठ्यारो भएको झम्सीखेल बैठकमा सहभागी मन्त्रीहरुले बताएका थिए । झम्सीखेलमा गृहमन्त्री थापाका साथै बहालवाला मन्त्रीहरु, घनश्याम भुसाल, शक्ति बस्नेत र वर्षमान पुनसमेत सहभागी थिए ।

प्रधानमन्त्रीको विपक्षमा यसरी मन्त्रीहरु नै खुलेर लागेपछि अब केपी ओली पार्टीमा मात्र नभई क्याबिनेटमा समेत नैतिक संकटमा परेका छन् ।

प्रलोभनको प्रयास काम लागेन !

प्रधानमन्त्री ओली र उनी निकटका नेताहरुले माधव नेपाल र प्रचण्डपक्षमा रहेका कतिपय नेतालाई आफूतिर तान्न अनेकौं प्रयास गर्दै आएका थिए । गृहमन्त्री थापालाई सचिवालयमा ओलीले सधैं आफ्नो पक्षमा राख्दै आएका थिए । वामदेव गौतमलाई पनि त्यसै गरेका थिए । तर, अहिले सचिवालयमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले मात्र ओलीलाई साथ दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओली पक्षबाट बालुवाटारमा हस्ताक्षर अभियान चलाइँदा पूर्वमाओवादी खेमाका केही नेताहरुलाई मन्त्री बनाउने वचन समेत उनले दिएका थिए ।
यसवीचमा ओली खेमाका नेताहरुले माधव नेपाल समूहका सुरेन्द्र पाण्डे लगायतलाई मन्त्री बनाएर आफ्नो समूहमा तान्ने प्रयाससमेत गरेको नेताहरु बताउँछन् ।

योगेश भट्टराई र घनश्याम भुसाललाई त्यही उद्देश्यले मन्त्री बनाइएको भएता पनि अहिले अन्तिम घडीमा उनीहरु आफ्नो पूर्वसमूहतिरै नजिक बन्न पुगेका छन् ।

स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्री लेखराज भट्टलाई भीम रावलसँगको अन्तरविरोधमा खेलेर प्रधानमन्त्री ओलीले आफ्नो नजिकमा ल्याएका थिए । टोपबहादुर रायमाझीलाई उनले सुरुदेखि नै आफू निकट राखेका थिए ।

तर, अब आफ्नै क्याबिनेटका मन्त्रीसमेत ओलीको विपक्षमा खुलेर उभिएपछि उनीमाथि ठूलो संकट आइपरेको छ ।

४४ सदस्यीय स्थायी कमिटीमा केपी ओलीको पक्षमा लगभग १३/१४ जना नेता मात्र छन् । उनीहरु पनि कतिपय ओलीलाई छाडेर बहुमतको खेमामा आउने दाबी प्रचण्ड-माधव पक्षको छ । विहीबार बिहान प्रचण्डले ओली पक्षका नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment