Comments Add Comment

उच्च रक्तचाप नियन्त्रण नगरे यी अंगमा पुग्नसक्छ क्षति

विगतमा बुढ्यौलीको समस्या मानिन्थ्यो उच्च रक्तचाप । अहिले युवा एवं किशोरमा समेत यो समस्या देखिन्छ । खासगरी खराब जीवनशैली, खराब खानपान र तनावपूर्ण दैनिकी नै उच्च रक्तचापको कारण बनिरहेको छ । त्यसो त वंशानुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ, कतिपयको मिर्गौला  वा मुटुमा समस्या भएमा पनि उच्च रक्तचाप हुनसक्छ । यद्यपि आम कारण भने खराब जीवनशैली नै हो ।

त्यसैले उच्च रक्तचापको अवस्था आउनै नदिने वा उच्च रक्तचाप भइसकेपछि त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी र प्राकृतिक विधी भनेको सन्तुलित एवं संयमित जीवनशैली नै हो । यसको अर्थ सन्तुलित खानपान, सन्तुलित दिनचर्या, सन्तुलित सोंच–चिन्तन ।

उच्च रक्तचापको लक्षण देखिएपछि आवश्यक परीक्षण एवं चिकित्सकसँग परामर्श लिनैपर्छ । चिकित्सकले रक्तचापको अवस्था हेरेर औषधि सेवन गर्नुपर्ने हो वा होइन भन्ने निक्र्यौल गर्न सक्छन् । उच्च रक्तचापको औषधिबारे समाजमा अनेक भ्रम छन् । त्यसैले कतिपयले औषधि सेवन नै गर्दैनन् । तर, उच्च रक्तचाप अनियन्त्रित भएमा त्यसले शरीरमा अन्य अंगहरुलाई समेत क्षति पु¥याउँछ ।

त्यसैले उच्च रक्तचाप भएपछि त्यसलाई नियन्त्रण गर्ने विधी अपनाउनैपर्छ, चाहे जीवनशैली परिवर्तन गरेर होस् वा औषधि सेवन गरेर ।

मिर्गौलामा असर

मिर्गौलाले हाम्रो रगतबाट दुषित पदार्थहरु अर्थात टक्सिनलाई बाहिर निकालिन्छ । उच्च रक्तचापको कारण मिर्गौलामा दबाब बढ्छ र कैयौं पटक रक्तनली साँघुरो र मोटो हुन्छ । यस बाहेक मिर्गौलामा  रगत छान्ने कोषहरुलाई पनि यसले प्रभावित बनाइदिन्छ ।

जसकारण मानिसका मिर्गौलाले आफ्नो काम ठिकसँग गर्न सक्दैन र रगतमा दुषित पदार्थ जमिरहन्छ । जसले समस्या बढ्दै गएर मिर्गौला फेल हुने र अन्य रोग लाग्ने खतरा पनि बढ्छ ।

मुटुरोगको खतरा बढ्छ

उच्च रक्तचापको कारण सबैभन्दा धेरै खतरा हाम्रो मुटुलाई हुन्छ । जब मुटुलाई साँघुरो भइसकेको रक्तनलीको कारण पर्याप्त अक्सिजन मिल्दैन त्यसपछि टाउको दुख्न सुरु हुन्छ । मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन ।

त्यस्तै रक्तनली धेरै साँघुरो भएर यदि रगतको बहाव नै रोकियो भने मानिसलाई पक्षघात पनि हुन सक्छ ।

मस्तिस्कमा प्रभाव

कम उमेरको मानिसलाई उच्च रक्तचापको समस्या स्मरणशक्तिको हिसाबले पनि खतरनाक हुन सकछ । उच्च रक्तचापको समस्या भएका मानिसको स्मरणशक्ति गुम्न पनि सक्छ जसलाई डिमेन्सिया भनिन्छ ।

उच्च रक्तचापको कारण समय बित्दै जाँदा रोगीको मस्तिस्कमा रगतको आपूर्ती कम हुन्छ र मानिसको सोच्ने सम्झिने शक्ति घट्दै जान्छ ।

उच्च रक्तचापको कारण हिप्पोकेम्पसमा रगतको सञ्चार ठिक प्रकारले नहुने भएकाले कैयौं ससाना स्ट्रोकको आशंका धेरै हुन्छ । यस कारणले उच्च रक्तचापका बिरामीहरुमा स्मरणशक्तिसँग जोडिएका समस्याहरुको खतरा धेरै हुन्छ ।

आँखा पनि प्रभावित हुन्छ

उच्च रक्तचापको समस्याले मानिसको आँखालाई पनि प्रभावित बनाउँछ । उच्च रक्तचापको कारण मानिसको आँखाको ज्योती कम हुँदै जान्छ जसले उनीहरु धमिलो देख्न थाल्छन् । यसैले उच्च रक्तचापको समस्या भएका बिरामीलाई चिकित्सकले आँखाको नियमित जाँच गर्ने सल्लाह दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment