Comments Add Comment

अचानक किन संसद अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगे प्रधानमन्त्री ?

१८ असार, काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकका एजेण्डा के छन् भन्ने मन्त्रीहरूलाई पनि थाहा थिएन ।

पार्टीमा संकटको सामना गरिरहेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएपछि अनेक आशंकासमेत भइरहेका बेला संसद अधिवेशन अन्त्य गर्ने एकमात्र एजेण्डा पेश भएपछि छलफल नै नगरी पारित भएको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएपछि झन् धेरै आशंका उत्पन्न भएको थियो । स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका नेताहरू पनि प्रधानमन्त्री शीतल निवासमा किन गए भनेर कानेखुसी गरिरहेका थिए ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले नियमित भेटघाट र समसामयिक विषयमा सरकार प्रमुखले राष्ट्रपतिलाई जानकारी गराएको बताए । शीतल निवासबाट फर्किएलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्‍ बैठकमा संसदमा खासै बिजनेस नभएकाले अधिवेशन अन्त्य गर्ने प्रस्ताव राखेका थिए ।

उनले कानुनमन्त्री डा. शिवमाया तुम्बाहम्फेतिर फर्केर कुनै बिजनेस छन् ? भन्ने प्रश्न गरेका थिए । मन्त्री तुम्बाहाम्फेले खासै केही नभएको र नागरिकतालगायतका कतिपय विधेयक विवादमै रहेको भनेपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सुनाए ।

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्नुपर्ने औचित्य सुनाउँदै भने ‘संसदमा खासै बिजनेस पनि छैन । कोरोना संक्रमणको फैलावट निकै बढिरहेको छ । यस्तो बेला संसद अधिवेशन लम्ब्याइरहनु ठिक हुँदैन । आवश्यक परेमा फेरि बोलाउन सकिहालिन्छ ।’

सं‌घीय स‌ंसदको अधिवेशन सुरु र अन्त्यको घोषणा सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने सं‌वैधानिक व्‍यवस्था छ ।

वैशाख २६ गतेबाट सुरु भएको संसदको यो अधिवेशनले एमसीसी सम्झौता अनुमोदन, नागरिकता र निजामती सेवासम्बन्धी विधेयक पारित गर्नुपर्ने थियो । तर सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमसीसी प्रकरण पनि धकेलिएको छ । जारी नेकपा स्थायी कमिटी बैठकको एजेण्डामा एमसीसी पनि छ।

प्रधानमन्त्री एकाएक संसद अधिवेशन अन्त्य गर्ने निचोडमा किन पुगे ? कोरोना संक्रमणको फैलावट र बिजेनस नहुनुमात्रै कारण हो कि,सत्ता संकट पनि यसमा जोडिएको छ ? पार्टीभित्र र बाहिरबाट यस्तो प्रश्न उठिरहेको छ । संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले कुनै पनि बेला आफू अनुकूल अध्यादेश ल्याउने बाटो सहज बनाएको चर्चा पनि चलिरहेको छ ।

संसद अधिवेशन अन्त्य गरेको सूचना पाएलगत्तै प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरू नेकपा स्थायी कमिटी बैठकबाट बाहिर निस्केर अलग्गै छलफल समेत गरेका थिए । संसदलाई छलेर कुनै पनि कदम प्रधानमन्त्रीले चाल्न सक्ने आशंका विरोधी पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment