Comments Add Comment

धनुषामा दुई गाउँका बासिन्दाबीच झडप, प्रहरीद्वारा ६ राउण्ड अश्रु ग्यास प्रहार

१९ असार, जनकपुरधाम । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने  माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् ।

बर्थिङ सेन्टर निर्माणको विषयमा यी दुई वडाबीच बिहीबारदेखि नै झडप हुँदै आइरहेको छ ।शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएपछि भिडलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीले भने, ‘बिहीबार पनि दुवै पक्षलाई सम्झाई बुझाई गरेर फर्केका थियौं । तर भवन निर्माणको विषयमा शुक्रबार पनि दुवै पक्षले आ-आफ्नो अडान राखेर विवाद गर्न थाले । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि अश्रु ग्यास र हवाई फायर गरेर भिडमा नियन्त्रणमा लिन बाध्य भएका हौं ।’
कार्कीका अनुसार विवाद गर्ने समूहले दुहबी सीमा प्रहरी चौकीमा समेत ढुँगामुढा गर्न थालेपछि ६ राउण्ड अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गर्नु परेको हो ।

झडपमा एक जनाको कानै काटियो

बर्थिङ सेन्टर निर्माणकाे विषयलाई लिएर भएको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । दुबै पक्षले एकअर्कामाथि ढुँगा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार अहिले यस ठाउँको अवस्था नियन्त्रणमा रहेको र बर्थिङ सेन्टर निर्माणबारे दुवै पक्षबचि छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment