+
+
Shares

बझाङ पहिरो : दुई जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २० गते ११:३३

२० असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । मृतकको पहिचान भएको छैन ।

पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको यकिन विवरण आइसकेको छैन । गाउँलेहरूले नै पहिरोमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको स्थानीय लोकेन्द्र विकले बताए ।

शनिबार बिहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताउँछन् । मल्लेसी गाउँमा ४० परिवारको बसोबास छ । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताए ।

मल्लेसी गाउँ खोलैखोला भएर जानुपर्ने हुन्छ । तर खोलामा बाढी आएको र माथिबाट पहिरो पनि खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको डीएसपी गणेश बमले जानकारी दिए ।

घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर त्यहाँ हेलिकप्टर आवश्यक भए/नभएको यकिन गरेपछि मात्रै उड्नका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

–भुवन बहादुर सिंहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?