Comments Add Comment

जनउत्थानसहित ६ सहकारीलाई उत्कृष्ट व्यवसायी पुरस्कार

२० असार, बुटवल । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थासहित देशभरका ६ वटा सहकारीले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेका छन् । जनउत्थानले प्रदेश ५ का सहकारीमध्येबाट उत्कृष्ट हुँदै यो पुरस्कार पाएको हो ।

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले ५ वटा प्रदेशका उत्कृष्ट सहकारीहरूलाई पुरस्कृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव केदार न्यौपाने र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले जनउत्थानकी अध्यक्ष ज्ञानु पौड्याललगायतलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।

प्रदेश ५ मै सबैभन्दा धेरै करिब २० हजार जना सेयर सदस्य रहेका जनउत्थानले यसअघि देशभरकै र प्रदेश ५ कै उत्कृष्ट सहकारी तथा उत्कृष्ट व्यवस्थापक पुरस्कार पाइसकेको छ ।

यस्तै, गण्डकी प्रदेशबाट कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी, कर्णाली प्रदेशबाट सुर्खेतको हरियो हीरा कृषि तथा जडीबुटी विकास सहकारी, वाग्मती प्रदेशबाट काठमाडौंको चन्द्रागिरि बचत तथा ऋण सहकारी र प्रदेश २ बाट रौतहटको साना किसान कृषि सहकारी संस्था उत्कृष्ट हुँदै पुरस्कृत भएका हुन् ।

यस्तै, केन्द्रीय सहकारी संघमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड काठमाडौं र जिल्लास्तरीय संघहरूमध्ये जिल्ला सहकारी संघ बाँके उत्कृष्ट घोषित भएको छ । सो अवसरमा महासंघले झापाको शुभलक्ष्मी सहकारी संस्थालाई १५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, पूर्वअध्यक्ष दीपक प्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेल, महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, यूएनडीपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंहले मुलुकको समृद्धिका लागि सरकारले सहकारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय सहकारी महासंघले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा हरेक वर्ष उत्कृष्ट सहकारीहरूलाई पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment