Comments Add Comment
बालुवाटारमा प्रम र मन्त्रीहरूको छलफल :

राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो, नियन्त्रण गर्नुपर्ने हुन सक्छ : प्रधानमन्त्री

मन्त्रीहरूलाई सोधे- तपाई‌ंहरूको साइड कता ?

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने, ‘यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे । उनका अनुसार त्यस्तो गलत सूचना प्रधानमन्त्रीलाई कसैले भरिदिएको हुन सक्ने उनको अभिव्यक्तिबाट झल्किन्थ्यो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

मन्त्री पुन र भुसालको ‘अब्जेक्सन’

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्रहरू भइरहेको भन्दै मन्त्रीहरूलाई आ-आफ्नो कित्ता स्पष्ट पार्न चेतावनीयुक्त भाषा प्रयोग गरेपछि ऊर्जामन्त्री वर्षमान पुन प्रधानमन्त्रीलाई जवाफ दिन तम्सिए ।

स्रोतका अनुसार मन्त्री पुनले प्रधानमन्त्रीलाई भने, ‘यदि त्यस्तो हुन लाग्यो भने हामीसँग सिङ्गो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरूमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरू आउन सक्छन् र आशंका एवं समस्याहरूको समाधान हुन सक्छ ।’

कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई दोस्रो विश्वयुद्धकालमा बेचिएका पोष्टरहरूको स्मरण गराउँदै गलत सूचनामा नबग्न आग्रह गरे ।

पहिलो विश्वयुद्धताका युरोपमा ‘…..हत्यारा हुन्, तिनका विरुद्ध लडौं, तिनलाई काटौं’ इत्यादि लेखिएका पोस्टरहरू बिक्री हुने गरेको बताउँदै मन्त्री भुसालले प्रधानमन्त्रीलाई भने, ती पोस्टरहरूमा ‘…हत्यारा’भन्दा अगाडि ‘फ्रेञ्चहरू’ ‘जर्मनहरू’ इत्यादि लेख्न सकिने गरी खाली राखिएको हुन्थ्यो । तपाईंहरूका बीचमा यस्तै पोस्टर बेच्नेहरूले भयंकररुपमा सूचनाको दुरुपयोग गरेर हामीलाई बगाएका छन् र हामी बगेका छौं, प्रधानमन्त्रीज्यूले यसबारेमा सोच्नुहोला ।’

मन्त्री भुसालले अझ अगाडि बढेर प्रधानमन्त्रीलाई थपे, ‘ प्रधानमन्त्रीज्यू, तपाईं शीर्षस्थ नेताहरू यस्ता गलत सूचनाले बहकिएका यथेष्ट प्रमाणहरू मसँग छन् ।’

पुन र भुसाललगायत केही मन्त्रीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले ल अब आजको छलफल यति नै भन्दै छलफल सकिएको जनाउ दिएका थिए ।

प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरूलाई बालुवाटारमा बोलाए तापनि यसलाई मन्त्रिपरिषद् बैठक नभएर अनौपचारिक छलफलको रूपमात्रै दिइएको थियो ।

प्रधानमन्त्री ओलीले  यो सरकार कुनै हालत ढल्दैन भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीलाई गलत सूचना !

सूत्रका अनुसार प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारमा आफू निकटका केही नेताहरूसँग छलफल गरिरहेका थिए । त्यहीबेला उनीसमक्ष खबर आइपुग्यो कि प्रचण्डनिवास खुमलटारमा राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले यसैलाई संकेत गर्दै शनिबार मन्त्रीहरूलाई बोलाएर आफू र राष्ट्रपति दुवैविरुद्ध षड्यन्त्र भएको दाबी गरेका हुन् ।

तर प्रधानमन्त्री ओलीलाई खुमलटारमा भएको भनिएको छलफलबारे कसैले ‘फेक’ सूचना सुनाएर उत्तेजित बनाएको नेकपाको उच्च स्रोत बताउँछ ।

प्रधानमन्त्री ओली सोही सूचनाबाट बहकिएर शनिबार राष्ट्रपतिलाई भेट्न पुगेको स्रोतले बतायो । केपी ओलीनिकटकै एक नेताले अनलाइनखबरसँग भने, ‘राष्ट्रपतिबारे खुमलटारमा जो नेताहरूले छलफल गरे भन्ने प्रधानमन्त्रीलाई सूचना दिइयो, ती नेताहरूसँग बुझ्दा यस्तो विषयमा कुनै छलफलै भएको रहेनछ ।’

यसैबीच सामाजिक सञ्जालमा पनि कतिपयले राष्ट्रपतिमाथि अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्ने चर्चा गरेका थिए । प्रधानमन्त्री ओली त्यस्तै सूचनाबाट बहकिएको नेकपा नेताहरू बताउँछन् ।

प्रधामन्त्रीले दिनभरि अत्याए !

शनिबार दिउँसो अकस्मात् प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएको खबरले नेकपाका नेता-कार्यकर्तामात्रै होइन, आममानिसमा समेत दुईवटा प्रश्न उब्जिए: एकथरीले सोचे- प्रधानमन्त्रीले राजीनामा दिन लागेका त होइनन् ? अर्काथरीले आशंका गरे- कतै पार्टी फुटाउने अध्यादेश जारी गर्ने वा संकटकाल नै घोषणा गर्न लागेका पो हुन् कि ?

प्रधानमन्त्री ओली शीतलनिवास प्रस्थानको खबरसँगै यस्तो आशंका बढ्नुका पछाडिको अर्को कारण के थियो भने ४ बजे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग हुने तय भएको भेट स्थगित गर्नु र साँझ सात बजे सबै मन्त्रीहरूलाई बालवाटारमा हाजिर हुन भनिएको थियो । यसरी मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले ‘फेयरवेल’ पो गर्न लागेका हुन् कि भन्ने कतिपयलाई लागेको थियो ।

तर, कतिपयले चाहिँ केपी ओली त्यसरी सहजै राजीनामा दिनेखालका नेता नभएकाले राष्ट्रपतिसँग मिलेर कुनै स्टेप चाल्न आँटेका पो हुन् कि भन्ने आशंका गरेका थिए । साँझ ८ बजेसम्म आइपुग्दा ‘खन्यो पहाड, निस्कियो मुसो’ भन्ने उखानजस्तै भयो । प्रधानमन्त्रीलाई आफ्नै मनको बाघले खाएर शीतलनिवास गएका रहेछन् । त्यसैका लागि मन्त्रीहरूलाई बालुवाटार बोलाएका रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment