Comments Add Comment

ससुरालीबाट घर हिँडेका उमेशको खोलामा शव भेटियो

२२ असार, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाको गादी खोलामा एकजना पुरुषको शव फेला परेको छ । सोही गाउँपालिकाका वडा नं. ३ इटियाहीका ४० वर्षीय उमेश सहनीको शव फेला परेको हो ।

बिन्दबासिनी-५ पर्सौनीभाठास्थित गादी खोलाले बगाइरहेको अवस्थामा सहनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सहनी बिन्दबासिनी गाउँपालिका- १ गर्दौलस्थित ससुरालीमा बस्दै आएका थिए । उनकी श्रीमती र बालबच्चा भने मुम्बईमा बस्ने गरेको स्थानीयले बताएका छन् ।

असार २० गते शनिबार उनी ससुरालीबाट घर जान भनी निस्केका थिए । उनले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयलाई बताएको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘शरीरमा स्यालले टोकेको जस्तो घाउ देखिएको छ । अन्य चोटपटक देखिएको छैन,’ डीएसपी कुँवरले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । ‘मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि खुल्छ,’ डीएसपी कुँवरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment