Comments Add Comment

पर्साको भिस्वामा सडकमै धान रोपेर विरोध प्रदर्शन

२४ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका– ५ भिस्वाका स्थानीयले हिलाम्य सडकमा धान रोपेर प्रदर्शन गरेका छन् ।

वर्षा शुरु भएसँगै भिस्वा बजार हुँदै वीरगञ्ज आउने सडकखण्ड हिलाम्य भएपछि धान रोपेर विरोध प्रदर्शन गरिएको स्थानीयले बताएका छन् ।

भिस्वा गाउँबाट भिस्वा बजार हुँदै जिल्ला सदरमुकाम वीरगञ्ज जाने सडक हिलाम्य भएर आवत जावत गर्न समस्या भएपछि सडकमै धान रोपिएको स्थानीय हरेन्द्र कुशवाहले बताए । ‘सडकको दुरावस्थाले गाउँमा मोटरसाइकल, साइकल, एम्बुलेन्स आउन जान नसक्ने अवस्था छ । पैदल यात्रुलाई समेत सडकमा हिँड्न गाह्रो भइरहेको छ’ उनले भने ।

गाउँपालिकामा स्रोत र साधन भए पनि स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि चासो नदेखाएकाले सडकमै रोपाइँ गरेको कुशवाहले बताए ।

सडक भन्दा तीन फिट माथि नाला बनाएको तर सडकको उचाइ नबढाइएकाले पानीको निकास हुन नसकेर सकडमै जम्ने गरेको स्थानीयको भनाइ छ ।

तर छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले भने उक्त सडकखण्ड बनाउने जिम्मा प्रदेश सरकारको भएको बताएका छन् । सडक बनाउनका लागि प्रदेश सरकारले ठेक्का लगाइसकेको र ठेकेदार कम्पनीको लापरवाहीका कारण गाउँबासीले सास्ती भोग्नुपरेको उनको भनाइ छ ।

‘सडकको दुरावस्थाका कारण जनताले सास्ती पाएका छन्, तर त्यो सडक बनाउन प्रदेश सरकारले ठेक्का लगाएको छ,’ उनले भने ‘ठेकेदार कम्पनी तथा प्रदेश सरकारलाई सडकको समस्याबारे पटक पटक झकझकाएको छु । तर सुनिरहेका छैनन् ।’

बाटोमा धान रोप्न जनतालाई नआउने भन्दै गाउँपालिका अध्यक्ष गुप्ताले राजनीतिक उक्साहटमा सडकमा रोपाइँ गर्ने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment