Comments Add Comment

उपेन्द्र यादव भन्छन्- भारतीय मिडियाले बदमासी गरे

२५ असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर आफूले बोलेका कुराहरू तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ ।

भारतीय च्यानल टीभी ९ सँगको अन्तर्वार्तामा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले ‘प्रधानमन्त्री ओली हनी ट्र्यापिङमा फसेको कुरा अस्वीकार गर्न नसक्ने’ बताएको भन्दै एउटा फुटेज प्रचार गरिएको छ । यो फुटेजलाई नेपालीहरूले पनि सामाजिक सञ्जालमा सेयर गर्दै यादवको आलोचना सुरु गरेका छन् ।

प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीका विषयमा भारतीय मिडियाले आपत्तिजनक रिपोर्ट बनाएको सन्दर्भमा नेपालका पूर्वउपप्रधानमन्त्री यादवसँग टीभी ९ का अभि उपाध्यायले प्रश्न सोधेका थिए ।

अन्तर्वार्तामा यादवलाई सोधिएको छ, ‘कैयौं स्रोतबाट यो कुरा आइरहेका छन् । नेपालको कम्युनिस्ट पार्टीभित्र पनि कुरा उठिरहेको छ कि किन चीनका राजदूतको हस्तक्षेपलाई ओलीले बढावा दिइरहेका छन् भनेर । त्यसैले म यो सवाल तपाईंसँग गर्दैछु कि के यो हनी ट्रापको मामला हुन सक्छ ?’

भिडियोमा यादवले जवाफ दिन्छन्, ‘यो कुरालाई इन्कार गर्न सकिँदैन । यसलाई गहिरोसँग हेर्नुपर्ने आवश्यकता छ । मानिसहरूले सवाल उठाइरहेका छन् । यसमा पनि केही तर्क छ ।’

प्रस्तोताले फेरि सोध्छन्, ‘के यो विषयमा अनुसन्धान हुनुपर्छ भन्ने तपाईंको आशय हो ?’

यादवले भन्छन्, ‘निश्चितरुपमा यसलाई जरोसम्म पुगेर हेर्नुपर्ने हुन्छ ।’

यादव भन्छन्- ‘तिनीहरूको बदमासी हेर्नोस् त !

आफूले बोलेको कुरालाई तोडमोड गरेर भारतीय मिडियाले गलत प्रचार गरेको र बेइमानी गरेको यादवले अनलाइनखबरलाई बताए । कथित ‘हनी ट्यापिङ’ का बारेमा सोधिएको प्रश्नमा आफूले यस्तो विषयमा अनुसन्धान गरेर, बुझेर मात्रै धारणा बनाउन आफूले भारतीय मिडियालाई सुझाव दिएको तर हनी ट्यापिङबारे छानबिन गरिनुपर्छ नभनेको यादवले स्पष्ट पारे ।

‘मैले अगाडि बोलेको पनि काटिएको छ, वाक्य पूरा नै नभई बीचको राखेर प्रसारण गरिएको रहेछ’ यादवले अनलाइनखबरसँग भने, अध्ययन गर्नुपर्छ र अध्ययन गरेर मात्रै यस्तो कुराहरू बोल्नुपर्छ भन्ने चाहिँ काटेको छ, अध्ययन गर्नुपर्छ भन्नेसम्म चाहिँ राखेको छ ।’

यादवले अगाडि थपे, ‘तिनीहरूले कस्तो बदमासी गरेको हेर्नोस् त । वाक्य पनि अपूर्ण छ नि त्यहाँ । अगाडि र पछाडिको काटेर बीचको मात्रै राख्दाखेरि त अर्थको अनर्थ हुन्छ नि । यस्तो पनि अनैतिक काम गर्ने ?’

यो पनि पढ्नुहोस अति भो भारतीय मिडियाको हर्कत !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment