Comments Add Comment

देशभर ६० प्रतिशत खेतमा रोपाइँ सकियो

२४ असार, काठमाडौं । असार तेस्रो सातासम्म देशभर ६० प्रतिशत खेतमा रोपाइँ भएको छ ।

असार २२ गतेसम्म ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव हरिबहादुर केसीले जानकारी दिए । गत वर्ष यही अवधिमा जम्मा तीन लाख २६ हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिने चरणमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको कुल रोपाइँ हुन सक्ने ३८ हजार ३८५ हेक्टरमध्ये ३० हजार ६११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा एक लाख २४ हजार ८९६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । त्यहाँ एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्छ ।

प्रदेश ५ पनि ७५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । असार २२ गतेसम्म प्रदेशको २ लाख २९ हजार १४५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ, प्रदेश पाँचमा तीन लाख तीन हजार ५९३ हेक्टरमा क्षेत्रफलमा रोपाइँ गरिन्छ ।

गण्डकी प्रदेशमा ५६.४९, बागमती प्रदेशमा ५२.०२, प्रदेश २ मा ५०.२२ र प्रदेश १ मा ५१.५४ प्रतिशत खेतमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा उच्च पहाडमा ५७.२४ प्रतिशत, मध्य पहाडमा ५६.१४ र तराईमा ६२.३८ प्रतिशत भूभागमा रोपाइँ सकिएको प्रवक्ता केसीले जानकारी दिए ।

नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हजार हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत बढी भूभागमा यस वर्ष छिट्टै धान रोपाइँ भएको हो । समयमै मनसुन सुरु हुँदा रोपाइँ छिट्टै भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment