Comments Add Comment

आईओएमको परीक्षा दिन २ हप्ता क्वारेन्टिन, अनिवार्य पीसीआर

२५ असार, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले परीक्षार्थीलाई क्वारेन्टिनमा राखेर र कोरोना संक्रमण परीक्षण गराएर पोस्ट ग्र्याजुएटको अन्तिम परीक्षा सञ्चालन गर्ने भएको छ ।

आईओएमको परीक्षा नियन्त्रण महाशाखाले बिहीबार परीक्षामा सहभागी हुने विद्यार्थीका लागि ५ बुँदे निर्देशन जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गरेपछि अनिवार्य होम क्वारेन्टिन वा आईओएमले तोकेको होटलमा क्वारेन्टिनमा बस्न भनेको छ । होटल क्वारेन्टिनमा बस्नेहरुले दिनको २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

साउन ९ गतेदेखि हुने परीक्षाको एक हप्ताअघि अनिवार्य रुपमा पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्नेछ । पीसीआर परीक्षणका लागि सरकारले तोकेको कोरोना भाइरसको हटस्पटबाट आएकाले निशुल्क पाउनेछन् भने अरुले ५५ सय रुपैयाँ तिरेर जाँच गराउनुपर्नेछ ।

पीसीआर पोजेटिभ आएमा २ हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ र अहिलेको परीक्षामा सहभागी हुन पाउनेछैनन् । उनीहरु पछि हुने जाँचमा मात्र सहभागी हुन पाउनेछन् ।

हेर्नुहोस् सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment