Comments Add Comment

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

'मैले सामान्य काम गरेर सुख पाउँदिनँ'

माडीका बाढी प्रभावित परिवारलाई भेट्दै नेकपा अध्यक्ष प्रचण्ड

२८ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडी क्षेत्रमा दीर्घकालीन महत्वका काम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न शनिबार माडी पुगेका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी साढे दुई वर्षको सांसद पदको अवधिभित्र माडीका जनताले सधैं सम्झिरहने दीर्घकालीन महत्वका काम गरेरै छाड्ने बताए ।

प्रचण्डले भने, ‘मैले अरु सामान्य सांसदले जस्तै केही सामान्य काम गरेर मात्रै सुख पाउँदिनँ, केही गरेरै देखाउनु छ ।’

‘माडीमा केही न केही विकासका दीर्घकालीन आधारशिला खडा गर्नु छ, यहाँका जनताले भविश्यमा समेत सम्झिने काम गर्नु छ, रिउ करिडोरमा रिङरोडको काम सुरु हुन्छ,’ प्रचण्डले थपे ।

‘२३ किलोमिटर सडकभित्र १२ वटा पुल निर्माण सुरु भयो’

उनले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा आकाशे पुल बनाउने पूर्वघोषणा अनुसार काम अघि बढ्ने बताए । त्यसको डीपीआर र अन्य अध्ययनका लागि एक करोड रकम विनियोजन गरेर काम अघि बढेको उनको भनाइ छ । माडीको प्रमुख समस्याका रुपमा रहेको निकुञ्ज सम्बन्धी ऐनलाई संशोधन गर्न दिन–रात लागिपरेको र त्यसको ड्राफ्टसमेत तयार भएको जानकारी प्रचण्डले दिए ।

उनले आफ्नो सांसद पदको अवधीभर माडीमा विद्युतको समस्या सदाका लागि अन्त्य गरेर छाड्ने प्रतिवद्धता जनाए । माडीका जनतालाई सुविधा होस् भनेर २३ किलोमिटर सडकभित्र १२ वटा पुल निर्माणको काम थालनी गरिएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।

माडीमा रहेको सुकुम्वासी समस्याको समाधान पनि गर्ने र जनता आवास कार्यक्रममार्फत् ६ सय घर बनाउने कार्यक्रम अघि बढेको प्रचण्डले बताए ।

माडीका जनताको सुख दुःखमा सँगै छु भन्नका लागि माडी आएको बताएका प्रचण्डले रिउ खोलाको बाढीमा परी मृत्यु एवम् बेपत्ता भएकाको परिवारसँग भेटघाट पनि गरे ।

प्रचण्डले रिउको बाढीमा परी बेपत्ता भएका माडी–५, धोबाहाका रामसिंह मर्दनिया र खोलाले बगाएर मृत्यु भएका माडी–८, खरकट्टाका पूर्वसिंह तामाङका परिवार एवम् आफन्तहरुसँग घरमा नै पुगेर भेटघाट गरेका थिए ।

भेटका क्रममा प्रचण्डले बेपत्ता मर्दनियाको खोजी गर्न तथा दुवै जनाको परिवारलाई राहत उपलब्ध गराउन स्थानीय प्रशासन र स्थानीय तहलाई निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment