Comments Add Comment

निगु पुखु : राजा महेन्द्रको स्वागतमा सुकाइयो, गणतन्त्रमा पायो पुनर्जीवन

२८, असार, काठमाडौं । २०६१ सालमा विश्व पानी दिवसमा संस्कृतिविद सत्यमोहन जोशीले भुक्तपुरको मध्यपुरथिमि-४स्थित निगु पुखु (दुई पोखरी) को पिँधमा उभिएर भनेका थिए,’परम्परागत पानीको स्रोत संरक्षण र व्यवस्थापन गर्न हामी चुक्यौं । अब सबैजना त्यता लाग्नुपर्छ ।’

जोशीको समर्थन गर्दै नेपाल भाषाका जनकवि दुर्गालालले पानीको महत्वबारे चेतनामुलक कविता सुनाएका थिए ।

त्यतिबेला ‘निगु पोखरी’ चौरका रुपमा थियो । पोखरीको नाम त थियो, तर पानी थिएन । ऐतिहासिक महत्व बोकेका पोखरीहरु चौरमा परिणत भएपछि संरक्षणको अभावमा यो जीर्ण बन्दै थिए । करिब ३ सय वर्ष पुरानो पोखरीको अस्तित्व मेटिँदै जाने अवस्था थियो ।

यी पोखरीहरु गंगा महारानीले मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिन स्थापना गरेको विश्वास गरिन्छ । शहरमा आगलागी भएमा पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुईवटा पोखरी निर्माण गराएको पनि मानिन्छ ।

विसं २०१५ सालसम्म पनि पोखरी आफ्नै अस्तित्वमा थियो । त्यतिबेला राजा महेन्द्रको भक्तपुर भ्रमणका बेला कार्यक्रम गर्न ठूलो ठाउँ चाहिएको भन्दै यी पोखरीहरु सुकाइएको थियो ।

त्यसपछि यो पोखरीको रुप फेर्न जिम्मेवार निकाय खासै तम्सिएनन् । स्थानीय युवाले सानोतिनो प्रयासले यो सम्भव हुने अवस्था पनि थिएन ।

नगरपालिकाले २०६५ सालमा फलामे बार लगाएर संरक्षणको प्रयास गरेको थियो । त्यतिबेला नगरपालिकाले ट्यांकरबाट पानी खन्याएर यसलाई भर्ने प्रयास पनि गरेको थियो । तर, पानी अडिँदै अडिएन ।

सत्यमोहन जोशी लगायतले निगु पोखरीको महत्वबारे बताएपछि नै पुनर्निर्माणका लागि स्थानीयले पोखरी संरक्षणका लागि समिति पनि बनाएका थिए । तर, योजना पूरा गर्न न बजेट थियो, न त स्पष्ट कार्ययोजना । त्यसैकारण निगु पोखरीको पहिचान नै संकटमा थियो ।

अहिले भने निगु पोखरी पहिलेजस्तो उराठलाग्दो मैदानको रुपमा छैन । पोखरीभित्र डरलाग्दो झाडी छैन ।  दुई पोखरीमध्ये सानोको त पुनर्निर्माणको काम नै सकिएको छ । ठूलो पोखरी पनि बन्दैछ ।

पुनर्निर्मित पोखरीमा विहान-बेलुका पोखरीका मन भुलाउन आउनहरु प्रशस्तै भेटिन्छन् । निगु पोखरी अब भने पुरानै स्वरुपमा फर्किँदैछ, पोखरीमा टलपल पानी भरिएको छ । त्यसैले त आजभोलि बालबालिकाहरु पोखरीमा फुटबल हैन, पौडी खेल्छन् ।

सुकेको ६२ वर्षपछि निगु पोखरीले कसरी पुनर्जीवन पायो त ?

तीन वर्षअघि मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधि निर्वाचित भएर आउँदासम्म यो पोखरीले नयाँ जीवन पाउला भन्ने कसैको अनुमान थिएन । पोखरी भनिए पनि यहाँ स्थानीयवासीले धान-पराल र बिस्कुन सुकाउँथे । केटाकेटीहरु खेल्थे । स्थानीय खेलकुद प्रतियोगिता पनि आयोजना हुन्थ्यो ।

वषर्ा लागेपछि छिर्नैनसक्ने झाडी हुन्थ्यो । यो पोखरीलाई ‘दुई पोखरी’को रुपमा चिनिन्थ्यो । तर, खास नाम ‘निगु’ हो भन्ने कुरा नयाँ पुस्ताका धेरैलाई खासै पत्तो पनि थिएन ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ यो पोखरीको पुनर्निर्माण गर्ने योजना आफूले मेयर निर्वाचित हुनुअघि नै बनाएको बताउँछन् । मेयर भएर आएपछि सबै दायित्व नगरपालिकाको काँधमा नै आयो ।

जनप्रतिनिधि आउनासाथै यो पोखरीको पुनर्निर्माण गर्ने योजना बन्यो । २०७५ को विष्का जात्रासम्म दुईमध्ये एउटा पोखरीमा पानी भरिसक्ने नगरपालिकाको लक्ष्य थियो । स्थानीयले पनि यसमा साथ दिए । २७ चैत, २०७५ मा यो सानो पोखरीमा पानी भरियो, त्यसपछि नगरपालिका थप हौसियो । त्यसपछि पोखरीलाई परम्परागत शैलीमा बनाउने कामअघि बढ्यो ।

दुईमध्ये एउटा पोखरीको पुनर्निर्माण हालसालै सकिएको छ । ठूलो पोखरीका यो वर्ष १ करोड ३५ लाख बजेट राखिए पनि लकडाउनका कारण समयमै काम सक्न समस्या भयो । आगामी चैतसम्म ठूलो पोखरीको पनि काम सकाउने लक्ष्य नगरपालिकाको छ ।

पुनर्निर्मित सानो पोखरीको चारैतिर परम्परागत प्रविधिमा इँटाको पर्खाल लगाइएको छ । कालीमाटी बिछ्याएर इँटा छापिएको छ । विज्ञको सल्लाहअनुसार करिब १२ इञ्च बाक्लो कालोमाटार ३ इञ्च बाक्लो बालुवा बाटो राखेर पोखरीमा पानी अड्याइएको छ । यो पोखरीलाई ब्युँताउन उपभोक्ता समितिमार्फत १ करोड ९ लाख रुपैयाँ खर्च छ ।

अब यो पोखरीमा स्थानीय आदर्श माध्यमिक विद्यालयको भवनबाट आकाशे पानी संकलन गरेर प्रशोधनपछि हाल्ने व्यवस्था गरिएको छ ।

निगु पोखरीको सम्पूर्ण रुपमा पुनर्निर्माण गरिसक्न १५ करोड लाग्ने अनुमान छ । जसअनुसार वरपर ८ वटा फाल्चा निर्माण हुनेछ । पोखरी वरपर परम्परागत पैदलमार्ग बन्नेछन् । यसलाई नगरको मुख्य सांस्कृतिक केन्द्र बनाउने योजना रहेको मेयर श्रेष्ठ बताउँछन् ।

पुनर्निर्माण सकिएपछि पोखरीलाई संरक्षण गरिराख्न र स्रोतको अभाव हुन नदिन यहाँ प्रवेशमा न्यून शुल्क लागाउने तयारी पनि छ । त्यसका लागि डुंगा पनि चलाउने योजना बनेको मेयर श्रेष्ठले बताए । पोखरहरु संरक्षणको सम्पूर्ण जिम्मा स्थानीय समुदायलाई नै दिने उनले बताए ।

श्रेष्ठका अनुसार हालसालै मध्यपुर थिमिकै विष्णुकुण्ड र बोडस्थिति कुमारी पोखरी पनि अहिले पुरानै स्वरुपमा फर्काइएको छ । घाँसेमैदानमा परिणत भइसकेको विष्णुकुण्डलाई जनप्रतिनिधि आएपछि नै पुनर्निर्माण गरिएको हो । यो कुण्ड पनि अहिले स्थानीयबासीको लागि साँझ विहान टहल्ने गन्तब्य बनेको छ ।

कुमारी पोखरी र वरपरको क्षत्रेलाई लकडाउनकै अवधिमा पुनर्निमण गरेर चिटिक्क बनाइएको छ । ‘हाम्रा मासिन लागेका पुराना सम्पदाहरुलाई परम्परागत शैलीमै पुनर्निर्माण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो योजना हो,’ श्रेष्ठ भन्छन् ।

नगरपालिकाले यसै अभियान अन्तरगत ३ वटा ढुंगेधारा र १० वटा फाल्चाको पुनर्निर्माण सकिसकेको छ ।
तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment