Comments Add Comment

उपत्यकाको समुदायमा कोरोना : १६२१ नमुना टेष्ट गर्दा तीन जनामा संक्रमण देखियो

२८ असार, काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीव्र रुपमा घटेको छ ।

शनिबारदेखि दैनिक पहिचान हुने संक्रमितको संख्या दुई अंकमा झरेको छ । शनिबार ७० र आइतबार ८२ जनामा संक्रमण पुष्टि भएको छ । तर कोरोनाको जोखिम साच्चै घटेको हो वा होइन भन्ने यकिन भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसको यकिन गर्न समुदायमा गएर स्वाब संकलन गरी परीक्षण गर्न थालिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाको नख्खु, कोटेश्वर, कागेश्वरी मनोहरा, कपन, डिल्ल्लीबजार लगायतका १२ स्थानमा स्वाब संकलन गरिएको थियो । दोस्रो चरणमा बैंक, मालपोत, कर जस्ता सेवाप्रदायक कार्यालय, फिवर क्लिनिक, आईसीयूमा काम गर्ने स्वास्थ्यकर्मी नमुना संकलन भइरहेको छ ।

अहिलेसम्म ३ हजार नमुना संकलन भइरहेको छ । त्यसमध्ये १६२१ नमुनाको परीक्ष० रिपोर्ट आएको छ र जम्मा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए ।

यो कुल परीक्षणको ०.१८ प्रतिशतमा संक्रमण देखिएको हो । नेपालमा कुल परीक्षणमा संक्रमतको दर ६/७ प्रतिशत हो । यस आधारमा ०.१८ धेरै न्यून हो ।

तर संक्रमण साच्चै घटेको हो वा होइन भन्ने पत्ता लगाउन टेष्टको दायरा बढाउनुपर्छ र बढाउँदैछौं’ डा. पाण्डले भने । उनका अनुसार काठमाडौं उपत्यकामा ५ हजार र उच्च जोखिममा रहेका १० जिल्ला, उच्च जोखिममा रहेका क्षेत्र लगायतका स्थानबाट ४५ हजार नमुना संकलन गर्ने योजना छ । ‘यसबाट समुदाय संक्रमण छ कि छैन भनेर एउटा निष्कर्ष निस्कन्छ’ डा. पाण्डेले भने ।

यसका साथै छिट्टै ‘सेरो प्रोभिलेन्स सर्वे’ गर्ने तयारी पनि छ । सात प्रदेश तथा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी २१ हजार नमुना संकलन गरिने भन्दै उनले भने, ‘यसले हामी सुरक्षित छौं कि छैनौं भन्ने थाहा पाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment