Comments Add Comment

नेपालका ५ प्रतिशत किशोर–किशोरी १५ वर्ष नपुग्दै कुलतमा

२८ असार, काठमाडौं । नेपालमा औसत ५ प्रतिशत किशोर किशोरी १५ वर्ष पुग्नुअघि नै कुलतमा लाग्ने गरेको पाइएको छ ।

तथ्यांक विभागले गरेको नेपाल बहुसूचक सर्वेक्षणले देखाएअनुसार नेपालमा १५ वर्ष उमेर नपुग्दै किशोर–किशोरीले चुरोट र मदिरा सेवनको लत सिकिसकेका हुन्छन् ।

विभागले सर्वेक्षणको सारांश आइतबार सार्वजनिक गरेको छ । जसअनुसार ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै एक पटक चूरोट सेवनको अनुभव लिइसकेको पाइएको छ ।

७.९ प्रतिशत पुरुष र ५ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै मदिरा सेवन गरेको सर्वेक्षणको नतिजाले देखाएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा १५–४९ वर्ष उमेर समुहका महिला र पुरुषमध्ये ४५.२ प्रतिशतले सर्वेक्षण गरिएको दिन भन्दा एक महिना अगाडिको अवधिमा कुनै न कुनै रुपमा मदिरा सेवन गरेको पाइएको छ ।

विभागले नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ का मूख्य सूचकको नतिजा सार्वजनिक गरेको हो । जसअनुसार नेपालमा सानै उमेरबाट मद्यपान र धुमपानमा मानिस फसिरहेको देखिएको छ ।

विभागका अनुसार यो सर्वेक्षणको कार्यान्वयन छैठौं विश्वव्यापी बहुसूचक सर्वेक्षणको श्रृङ्खलाका रुपमा संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सरकारले गरेको हो । सर्वेक्षणका दौरान नेपालभरबाट १२ हजार ८ सय परिवारबाट पारिवारिक विवरण संकलन गरी त्यसलाई विश्लेषण गरिएको विभागले जनाएको छ ।

यो सर्वेक्षणले परिवारको शिक्षा, पारिवारिक विशेषता, सामाजिक सुरक्षा कार्यक्रम, परिवारले प्रयोग गरेको इन्धन, खानेपानी र सरसफाइ, पानीको गुणस्तरलगायतबारे प्रश्नावली भराइएको थियो । उता, व्यक्तिगत विवरणका दौरान पृष्ठभूमि, सूचना तथा सञ्चार प्रविधिमा पहुँच, सूर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, घरेलु हिंसालगायत विवरण भरिएको थियो ।

बाल मृत्युदर घट्यो

विभागका अनुसार २०७१ सालमा गरिएको सर्वेक्षणको तुलनामा २०७६ सालसम्म आइपुग्दा बाल मृत्युदर घटेको छ । २०७१ सालमा प्रति १ हजार जीवित जन्मेका शिशुमध्ये १ वर्ष नपुग्दै मृत्यु हुने शिशुको संख्या ३३ रहेको थियो ।

२०७६ मा भने यस्तो संख्या २५ मा झरेको छ । ५ वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत घटेको छ । २०७१ सालमा जीवित जन्मेका १ हजार बालबालिकामध्ये ५ वर्ष नपुग्दै मृत्यु हुने बालबालिकाको संख्या ३८ थियो । अहिले यो घटेर २८ मा आइपुगेको छ ।

प्रदेश अनुसार नवजात शिशुको मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति एक हजारमा २५ जना र सबैभन्दा कम बागमती प्रदेशमा प्रति एक हजारमा ९ जना रहेको छ । ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर सबैभन्दा बढी प्रदेश ५ मा प्रतिहजारमा ४० र सबैभन्दा कम प्रदेश २ र बागमतीमा प्रति हजारमा १९÷१९ जना रहेको छ ।

प्रजनन दर प्रतिमहिला २ बच्चा

पछिल्लो सर्वेक्षणले नेपालमा कुल प्रजनन दर प्रति महिला (१५–४९ वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माउने गरेका छन् ।

सर्वेक्षणले देखाएअनुसार नेपालमा किशोरी उमेरमै बच्चा जन्माउने दरसमेत ठूलो रहेको छ । १५–१९ वर्ष उमेर समुहका किशोरीको प्रजनन दर प्रति १ हजारमा ६३ बच्चा जन्मिएको पाइएको छ । २०–२४ वर्ष उमेर समूहमा गरिएको सर्वेक्षण अनुसार ६ जना महिलामध्ये १ जनाले १८ वर्ष अगाडि नै बच्चा जन्माएको पाइएको छ ।

सर्वेक्षण अनुसार पारिवारिक स्वास्थ्यका लागि नियमित स्वास्थ्य चेकजाँच गराउने गरेको पाइएको छ । परिवार नियोजनका साधनको प्रयोगमा समेत उनीहरुको चासो बढेको छ । यसलाई सर्वेक्षणले सकारात्मक मानेको छ । फलस्वरुप नेपालमा प्रतिमहिला प्रजनन् दरसमेत दुई बच्चामा सीमित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment