Comments Add Comment

भारतीय हस्तक्षेपले तराई डुवानमा पर्‍यो : गृहमन्त्री थापा

२९ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए ।

‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।

बैठकमा सांसदहरूले भारत सरकारको रवैयाको आलोचना गरे । ‘अरु बेला रोटीबेटीको सम्बन्धका कुरा गर्ने तर, बाढी, डुवान, कटान आउँदा त्यसखालको व्यबहार नहुने…’, बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले भनिन्, ‘यस्तो छिमेकी (भारत)लाई मित्र भन्ने कि दुष्ट ?’

पूर्वमन्त्री समेत रहेका नेकपाकै सांसद लालबाबु पण्डितले नेपालको सीमा नजिक भारतले जबरजस्ती बनाइरहेको संरचनाका बिषयमा दुईपक्षीय कुरा गरेर समाधान खोज्नुपर्नेमा जोड दिए ।

नेकपाका अर्का सांसद झपट रावलले सोधे, ‘सीमामा भारतीय दादागिरीले सीमा नाघ्यो, अझै चुप लागेर बस्ने कि केही गर्ने हो ?’

नेकपाकै सांसद महेश्वरजंग गहतराजले भारतले जानीजानी नेपाललाई सास्ती दिन सीमामा संरचना बनाउँदै गएको बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दुई देशबीचको समस्यामा बाढी र डुबानमा समेत जोडिएको भन्दै दुबैलाई क्षति नहुनेगरी समन्वयमा काम हुनुपर्नेमा बताए । त्यसका लागि तत्काल कुटनीतिक पहल थाल्न उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई आग्रह गरे ।

बैठकमा सहभागी कांग्रेसका सांसदहरू देवेन्द्रराज कंडेल, अमरेशकुमार सिंह, डिला संग्रौलाका साथै नेकपाका यशोदा सुवेदी गुरुङ, रेखा शर्मा र नवराज सिलवालले भारतद्वारा निर्मित संरचनाले जोखिम बढेको भन्दै कुटनीतिक पहलमा जोड दिए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले ‘दक्षिण एसियामा भारतको शत्रुता र आक्रामक रणनीति छ भन्ने बुझेर अगाडि बढ्न’ सरकारलाई सुझाव दिए ।

समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment