Comments Add Comment

धरहराको दशौं तलाको काम सकियो (फोटो फिचर)

२९ असार, काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापतिसहितको टोलीले सोमबार रानीपोखरी, धरहरा र काष्ठमण्डप पुनःनिर्माणको स्थलगत अवलोकन गरेको छ ।

समितिका सभापति कल्याणीकुमारी खड्कासहितको टोलीले तीनवटै सम्पदाको स्थलगत अवलोकन गरी सन्तोषजनक रुपमा काम भइरहेको प्रतिक्रिया दिएको छ । खड्काले लामो समय विभिन्न आन्तरिक समस्याका कारण काम हुन नसकेको भए पनि पछिल्लो समय उत्साहजनक रुपमा काम भइरहेको बताइन् ।

अवलोकनमा आएको समितिलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा निर्माणको प्रगतिबारे जानकारी गराएका थिए । उनले हालसम्ममा धरहराको ३९ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । दशौँ तलाको काम सकिएको धरहरामा अहिले पार्किङस्थलको काम भइरहेको र दैनिक ४० जना कामदारले काम गरिरहेका छन् ।

धरहराको पनि भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्स्ट्रकशनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणका लागि रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।

धरहराको १८ औँ तलामा अवलोकनकक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

 

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment