Comments Add Comment

पर्सामा बाढीले धानबालीमा क्षति  

फाइल तस्वीर

३० असार, वीरगञ्ज । अविरल वर्षाका कारण पर्साको ओरिया खोलामा बाढी आउँदा धान र तरकारी बालीमा क्षति पुर्‍याउनुको साथै जमिन कटान गरेको छ । पिडारीगुठी क्षेत्रमा ३ बिघा भन्दा बढी धान र तरकारी बालीमा क्षति पुगेको हो भने ६ कठ्ठा जमिन कटान गरेको स्थानीयले बताएका छन् ।

स्थानीय अनुप रायको १ बिघा १ कठ्ठा, भिखारी महतोको १ बिघा, प्रजापतिदेवीको ८ कठ्ठा, रामेश्वर महतो र सुरजदेवको ५/५ कठ्ठा र रामायण महतोको १ कठ्ठामा लगाएको धानबालीमा बाढी पसेर क्षति पुगेको छ ।

त्यसैगरी हिरामन महतोको ३ कठ्ठामा लगाएको घिरौंला, भिण्डीबाली र शिव महतोको ६ कठ्ठाको भिण्डीबाली नष्ट भएको छ ।

घर भत्किँदा तीनजना घाइते

त्यसैगरी सोमबार बिहान परेको पानीका कारण बहुदरमाई नगरपालिका–२ सिर्सिया टोल बस्ने राम प्रवेश रामको कच्ची घर भत्किँदा ३ जना सामान्य घाइते भएका छन् । घरधनी ६० वर्षीय राम प्रवेश, ४० वर्षीया सुदामा देवी र ५ वर्षीया छोरी रोदी कुमारी घाइते भएका हुन् । राम प्रवेशको कुममा, सुदामाको ढाडमा र रोदीको पेटमा चोट लागेको तर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टायलको छाना भएको कच्ची घर भत्केर भत्केर उनीहरुलाई चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकामा घरको छत अगाडिको भाग भत्केर क्षति भएको छ । मंगलबार बिहान ४ बजे वीरगञ्ज–८ पानीट्याङकी स्थित विनय अग्रवालको छत भत्केको हो । २ मिटर छत तल खस्दा टेलिफोनमा क्षति पुगेको र यामाहा एन म्याक्स स्कुटरमा क्षति पुगेको अग्रवालले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment