
३० असार, काठमाडौं । नेपाली कांग्रेस, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को विवाद टुंग्याएको छ । सभापति शेरबहादुर देउवाले फागुनमा मनोनित गरेका विष्णुप्रसाद पौडेललाई सभापतिमा निरन्तरता दिने गरी सहमति जुटेको हो ।
संघीय संरचनाका क्रममा नवलपरासी (बर्दघाट पूर्व) र (बर्दघाट सुस्ता पश्चिम) गरी दुई जिल्ला बन्यो । २०७२ सालमा भएको अधिवेशनबाट निर्वाचित सभापति विष्णु लामिछाने नवलपुर (बर्दघाट पूर्व) का सभापति भए । बर्दघाट सुस्ता पश्चिममा उपसभापति अर्जुनकुमार पोखरेल कार्यबाहक बने ।
तर पार्टी सभापति देउवाले एकपक्षीय रुपमा पौडेललाई सभापति मनोनित गरे । कार्यबाहक सभापति पोखरेल महासमिति सदस्य नभएकाले उनी सभापति हुन नसक्ने देउवाको तर्क थियो । त्यसैले उनले आफू निकट महासमिति सदस्य पौडेललाई मनोनित गरे । त्यसमा महामन्त्री शशांक कोइराला रुष्ट बने । उनले पौडेललाई सभापति मनोनित गर्ने निर्णय फिर्ता लिन माग गर्दै सभापति देउवलाई लिखित रुपमै ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।
सभापति बन्न महासमिति सदस्य हुनुपर्ने व्यवस्था भएपनि कार्यबाहक हुन नभएकाले पोखरेललाई निरन्तरता दिनुपर्ने महामन्त्री कोइरालाको माग थियो ।
विवाद यतिसम्म भयो कि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा मृत्यु हुँदा दुबै गुटले फरक फरक रुपमा पार्टीको झण्डा ओढायो ।
त्यसपछि सभापति देउवाले विवाद मिलाउने जिम्मा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिएका थिए । उनले पौडेल, पोखरेल र विजयकुमार गच्छदार निकट सुवास गिरी पक्षलाई राखेर आइतबार छलफल गरेका थिए । पार्टी कार्यालय सानेपामा भएको वार्तामा सातबुँदे सहमति भएको छ ।
सहमतिअनुसार अब पौडेल नै सभापति रहनेछन् । कार्यबाहक रहेका पोखरेल पहिलो उपसभापति र सहसभापति रहेका गिरीलाई दोस्रो उपसभापति बनाउने सहमति भएको छ । साथै सभापति भएपछि पौडेलले गरेका मनोनयन, कार्यबाहक सभापति हुँदा पोखरेलले गरेका मनोनयन सबै खारेज भएको छ ।
यस्तो छ सहमतिपत्र
प्रतिक्रिया 4