३० असार, काठमाडौं । इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा छन् र युरोपकै सर्वाधिक गोलकर्ताको होडमा अघि बढेका छन् ।
उनी पाँचौं पटक पनि युरोपियन गोल्डेन बुटमा नजर लगाइरहेका छन् । ३५ वर्षका रोनाल्डोले त्यसका लागि बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इटालियन क्लब लाजियोका सिरो इम्मोबाइललाई पछ्याइरहेका छन् ।
जर्मन क्लब बायर्नलाई यस सिजन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । इम्मोबाइलले २९ र रोनाल्डोले २८ गोल गरेका छन् । तर पछिल्लो समय लाजियो खराब लयमा रहँदा इम्मोबाइले पनि लगातार गोल गर्न सकेका छैनन् ।
रोनाल्डोले कोभिड- १९ महामारीपछि सिरी ए मा युभेन्ट्सका लागि ८ खेलमा ७ गोल गरिसकेका छन् । सिरी ए मा यस सिजन अझै ६ खेल बाँकी रहेकाले रोनाल्डोले थप गोल गर्दै लिग र युरोप दुवैमा गोल्डेन बुट जित्न्ने सम्भावना छ ।
रोनाल्डोले इटली गएपछि अन्य खेलाडीभन्दा धेरै गोल गरेका छन् । रोनाल्डोले ४९ गोल गर्दा इम्मोबाइलले ४४, डुभान जापाट्टाले ३८ र क्वागलिएरेलाले ३५ गोल गरेका छन् । सन् २०१८ मा युभेन्टस गएपछि ८३ खेलमा ६० गोल गरिसकेका उनी युभेन्टसका सर्वाधिक गोलकर्ताको शीर्ष २५ भित्र परिसकेका छन् ।
रोनाल्डोले यस सिजनमा पछिल्लो तीन सिजनमा भन्दा बढी गोल गरेका छन् ।
पछिल्लो तीन सिजन लगातार युरोपियन गोल्डेन बुट जितेका बार्सिलोनाका कप्तान लिओनेल मेसीले यस पटक उक्त लय कायम राख्न नसक्दा गोल्डेन बुटको होडमा छैनन् । यद्यपि ला लिगामा सर्वाधिक २२ गोल उनकै नाममा छ । मेसीले गत सिजन युरोपियन गोल्डेन बुट जित्दै छैटौं पटक यो अवार्डमा नाम लेखाए ।
युरोपियन गोल्डेन बुटको लागि युरोपका शीर्ष पाँच लिगमा गोल गर्ने खेलाडीको एक गोल बराबर २ अंक गणना हुनेछ । त्यसबाहेक अन्य लिगको भने स्तरअनुसार १.५ र १ अंक गणना हुन्छ ।
युरोपियन गोल्डेन बुटको दौडमा रहेका खेलाडी
१. रोबर्ट लेवान्डोस्की : ६८ अंक (३४ गोल)
२. सिरो इम्मोबाइल : ५८ अंक (२९ गोल)
३. क्रिस्टियानो रोनाल्डो : ५६ अंक (२८ गोल)
४. टिमो वेर्नर : ५६ अंक (२८ गोल)
५. एर्लिङ हालान्ड : ५० अंक (२९ गोल) (१३ गोल जर्मनीमा र १६ गोल अष्ट्रियामा) जर्मनीको गोलको २ अंक र अष्ट्रियाको गोलको १.५ अंक गणना हुनेछ ।
६. जेमी भार्डी : ४४ अंक (२२ गोल)
७. शोन वेइस्मन : ४५ अंक (३० गोल) इजरायल लिगको एक गोल बराबर १.५ अंक गणना हुनेछ ।
८. लिओनेल मेसी : ४४ अंक (२२ गोल)
९. पिएर एमरिक औबामेयाङ : ४० अंक (२० गोल)
१०. रोमेलु लुकाकु : ४० अंक (२० गोल)
प्रतिक्रिया 4