Comments Add Comment

प्रधानमन्त्रीलाई थकित देखेपछि प्रचण्ड खुमलटार फिर्ता

आफ्नै बोलीका कारण घेराबन्दीमा परे ओली

३० असार, काठमाडौं । भगवान रामचन्द्रको जन्मभूमि नेपाल नै हो भनेर सोमबार भानुजयन्तीका दिन दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निकै थकित एवं गलेको अवस्थामा देखिए ।

प्रधानमन्त्रीको थकानकै कारण नेकपाका दूई अध्यक्षवीच हुने भनिएको आन्तरिक छलफल विषयमा प्रवेश गर्न नसकी बुधबारका लागि सर्‍यो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा सोमबारदेखि नै निकै ठूलो तरंग आइसकेको थियो । नेपालले नक्सा जारी गर्दासमेत विज्ञप्ति जारी नगरेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विज्ञप्ति नै जारी गरेर ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो ।

स्वदेशमा पनि नेकपा उपाध्यक्ष वामदेव गौतमदेखि लिएर विभिन्न नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरे । जनस्तरमा पनि प्रधानमन्त्रीको आलोचनाका स्वरहरु सुनिए । देश-विदेशमा भएको चर्को विरोधसँगै प्रधानमन्त्री ओली आफ्नै बोलीका कारण घेराबन्दीमा परे ।

प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दबाव र घेराबन्दीमा परेकै बेला कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्किए । ‘तपाई थाक्नुभएको रहेछ, आज आराम गर्नुहोस्, भोलि कुरा गरौंला’ भन्दै प्रचण्ड बालुवाटारबाट निस्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।

परराष्ट्र मन्त्रालयबाट प्रधानमन्त्रीको खण्डन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको खण्डन गर्ने प्रयास परराष्ट्र मन्त्रालयमार्फत गरिएको छ ।

मंगलबार निकालिएको परराष्ट्रको विज्ञप्तिले रामायण सर्किट र त्यसैको कम्पोनेन्टका रुपमा अयोध्या-जनकपुर बस सेवासम्बन्धी सम्झौतालाई स्मरण गरेको छ, जुन सम्झौतामा सन् २०१८ मा नेपाल र भारतका प्रधानमन्त्री ओली र मोदीले गरेका थिए ।

प्रधानमन्त्री ओलीले भगवान रामको जन्म पर्साको ठोरीमा भएको दाबी गरेकै भोलिपल्ट परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर विवाश पञ्चमी, रामायण सर्किट र अयोध्या-जनकपुर बससेवाको स्मरण गर्नु भनेको प्रधानमन्त्रीको दाबीको सांकेतिकरुपमा खण्डन गरिएको अर्थमा सहजै बुझ्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले सोमबार व्यक्त गरेको धारणाबारे कुनै पनि थप ब्याख्या गरेका छैनन् । तर, उनको सबैभन्दा निकटमा रहेका नेताहरुसमेत ‘प्रधानमन्त्रीज्यूले यस्तो नबोल्नुभएको भए राम्रो हुन्थ्यो’ भन्छन् ।

उता पार्टीका उपाध्यक्ष वामदेव गौतमले भने प्रधानमन्त्रीको अभिव्यक्तिको खुलेरै आलोचना गरेका छन् । यस्तो तथ्यहीन अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेता गौतमको भनाइ छ ।

उपाध्यक्ष गौतमले भनेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।’

भगवान रामको जन्मभूमिबारे विवाद निकालेर प्रधानमन्त्री ओलीले मूल राजनीतिक समस्याहरुलाई विषयान्तर गर्न खोजेको नेकपाका अर्का नेता भीम रावलको टिप्पणी छ ।

नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा लगायतले पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलल पुर्‍याउन सक्ने भन्दै आलोचना गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीहरु कमल थापा, रमेशनाथ पाण्डे लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले चर्को आलोचनाको सामना गर्नुपरेको छ ।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिका कारण आगामी साउन २ गते बस्ने भनिएको पार्टीको स्थायी कमिटीको बैठक फेरि विषयान्तर हुन सक्ने सो पार्टीका नेताहरुले चिन्ता प्रकट गरेको छन् । यसखघि पनि मदन भण्डारी जयन्तीका दिन प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरु लागेको टिप्पणी गरेपछि पार्टीको बैठक भड्किएको थियो ।

भारतीय हिन्दूवादी उत्तेजित

प्रधानमन्त्री ओलीले अयोध्याका विषयमा गरेको टिप्पणीका कारण भारतीय सन्त एवं त्यहाँका हिन्दूवादीहरु उत्तेजित हुने संकेतहरु देखिएका छन् । भारतीय मिडियामा आएका कतिपय सन्तको अभिव्यक्ति हेर्दा उनीहरुले सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment