Comments Add Comment

१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ : प्रकाशमान

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ७ फागुनदेखि सुरु हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।

समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेको बताउँदै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए ।

ठमेलको चाक्सीबारीस्थित आफ्नै निवासमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘हाम्रो महाधिवेशन फागुनमा छ । नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं ।’

कम्युनिष्टहरुले समृद्धि अभियान अगाडि नबढाएको भन्दै उनले अब कांग्रेसले समृद्धि अभियान अगाडि बढाउने बताए । त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्ने उनको जोड छ ।

नेकपा नेतृत्वको वर्तमान सरकारले कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको, कोरोना परीक्षणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको र नेपालको आन्तरिक राजनीतिमा सरकारले विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको आरोप सिंहले लगाए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने, ‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ ।’

कार्यक्रममा ठमेल क्षेत्रका २७ जनालाई नेता सिंहले अबिर लगाइदिएर र काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment