Comments Add Comment

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, ५ बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरो । तस्वीर : श्रीधर न्यौपानेको फेसबुक

१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् ।

गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । गेन्जिङ चालक हुन् । काठमाडौं उपत्यकाबाहिर रहेका उनी पहिरोले घर पुरेको खबर पाएपछि गाउँ फर्किँदै छन् ।

घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार पहिरोमा पुरिएको अर्को घर भने ङासम्बु शेर्पाको हो । त्यो घरमा भने कोही पनि बस्दैनथे ।

गुरुङका अनुसार प्रहरीहरु घटनास्थलमा पुगिसकेको छैनन् । गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले प्रहरीहरुलाई खबर गरेको र उनीहरु घटनास्थलमा जाँदै गरेको बताइन् ।

गएराति करिब साढे १ बजे पहिरो गएको थियो । पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।

बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलबिरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह एक मिटर बढेर सतर्कता आसपासको बाढी आएको थियो । बाढी बढ्दो क्रममा छ । त्यसैले बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन आग्रह गरेको छ ।

यसअघि गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन् । बाढीले क्षति पुर्याएर अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment