Comments Add Comment

प्रहरीको कुटाइबाट घाइते कोरोना संक्रमितले उपचार पाएनन्

१ साउन, सुर्खेत । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका सुर्खेतका कोरोना संक्रमित युवक उपचारबाट वञ्चित भएका छन् । सिम्ता गाउँपालिका–६ मा सोमबार प्रहरी सहायक निरीक्षक विजय पुनको कुटाइबाट एक जना संक्रमित गम्भीर घाइते भएका थिए ।

राकमस्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई पुनले असार २९ गते (सोमबार) कुटपिट गरेका हुन् । ‘प्रहरीको कुटपिटबाट घाइतेको शरीरभर निलडाम छ । एउटा हात भाँचिएको छ । खुट्टामा पनि चोट छ’ पीडितकी दिदीले भनिन्,‘आज चार दिन भयो अझै उपचार हुन सकेको छैन ।’

कुटपिट भएकै दिन उपचारका लागि अस्पताल लैजान आफन्तले माग गरे पनि स्थानीय तहले चासो दिएन । कोरोना पोजेटिभ देखिएका कारण स्थानीय तहले अस्पताल लैजान नदिएको पीडित परिवारको भनाइ छ ।

‘उही दिन उपचार गर्न लैजाउँ भन्दा कोरोना संक्रमण देखिएकाले लैजान दिइएन,’ उनले भनिन्, ‘आज उपचारका लागि लैजाने कि भन्ने सोचेका छौं, तर संक्रमितलाई डाक्टरले छुदैनन् कि भन्ने डर छ ।’

भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा रहेका ती युवक सोमबार साथीहरुसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपीपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए ।

पाँच सदस्यीय छानबिन समिति गठन

कुटपिटको घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिलाई एक साताको समय दिइएको छ । समितिको प्रतिवेदनका आधारमा कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही गरिने सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

कुटपिटको घटनामा संलग्न प्रहरी सहायक निरीक्षक विजय पुन जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।

रुकुम पश्चिममा कुटपिटमा संलग्न २ प्रहरी निलम्बित

दुई महिनाअघि रूकुम पश्चिममा प्रहरीले महिलामाथि कुटपीट गरेको घटनामा संलग्न २ प्रहरीलाई निलम्बन गरिएको छ । जिल्लाको आठविसकोट नगरपालिका–९ कि नेहा विष्टलाई प्रहरीले निर्घात पिटेको भिडियो सार्वजानिक भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गठिन समितिले सोमबार नै कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरी हवल्दार पृथ्वीबहादुर आग्री र अर्का एकजना जवानलाई निलम्बित गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

असार २३ गते नेहा विष्टमाथि प्रहरीबाट कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको थियो । घटनाको छनबिन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment