Comments Add Comment

पोखराका स्रोत नभेटिएका दुई कोरोना संक्रमित

४ असार, पोखरा । जेठको तेस्रो साता पोखराका ५० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भयो । कुनै पनि ट्राभल हिस्ट्री नभएको र बाह्य व्यक्तिसँग सम्पर्कमा नभएको उनमा कसरी कोरोना सर्‍यो भन्नेबारे अझै पत्ता लाग्न सकेको छैन ।

बिहान कोठामै बेहोस भेटिएका उनलाई उपचारका लागि पोखराकै गण्डकी मेडिकल कलेजमा उपचार गरिएको थियो । त्यसपछि उनको थप उपचारका लागि भन्दै काठमाडौं रेफर गरिएको थियो । काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी निको भएर घर फर्किसकेका छन् ।

बाह्य सम्पर्कमा नआएका ती पुरुषलाई कोरोना संक्रमण देखिएपछि गण्डकी स्वास्थ्य निर्देशनालयले तत्काल कन्ट्याक ट्रेसिङ सुरु गर्‍यो । उनीसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा कुनैमा पनि कोरोना पुष्टि नभएपछि अहिले त्यो केश फलोअप गर्नै छोडिएको छ ।

‘हामीले गर्ने भनेकै उहाँसँग सम्पर्कमा आएकाको ट्रेसिङ हो । सबैको स्वाब कलेक्सन गरेर परीक्षण गरे पनि कसैमा कोरोना भेटिएन,’ पोखरा महानगरका स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले भने, ‘अहिले त बिरामी आफैं निको भइसक्नुभयो । अरुमा समस्या देखिएको छैन ।’

असारको तेस्रो साता पोखरा महानगरपालिका–१७ का ५३ वर्षका पुरुषमा कोरोना संक्रमण भयो । उनी पनि कोरोना महामारी रोक्न सरकारले लकडाउन गरेयता गत चैतदेखि घरमै थिए ।

‘बाह्य सम्पर्क थिएन । स्वास्थ्यमा केही समस्या आएपछि उहाँ आफैं अस्पतालसम्म पुग्नुभएको थियो,’ अधिकृत आचार्यले भने, ‘पछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।’ घरमै बसिरहेका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ सुरु गरिएको थियो ।

कन्ट्याक ट्रेसिङबाट ती संक्रमितसँग सम्पर्कमा आएका २ जनामा कोरोना संक्रमण पुष्टि पनि भयो । तर, उनीहरु पनि बाह्य सम्पर्कमा आएका व्यक्ति भने थिएनन् । त्यहाँ पनि स्रोतसम्म पुग्न नसकी निर्देशनालय ‘ब्याक’ भएको छ ।

‘कास्कीमा अहिलेसम्म २ केस स्थानीयस्तरमा भेटिएका हुन् । त्योबाहेक अरु छैन,’ अधिकृत आचार्यले स्वीकारे भने, ‘सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्‍यौं । तर, न अरु संक्रमित पुष्टि भए न स्रोतसम्म पुग्न सक्यौं ।’ उनले स्रोतको खोजी भने जारी रहेको सुनाए ।

पोखरामा आइतबारमात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु बहराइन, साउदी, कुवेतलगायत देशबाट आएको अधिकृत आचार्यले जानकारी दिए । ‘कोही होम क्वारेन्टिन, कोही महानगरकै क्वारेन्टिनमा हुनुहुन्छ । आइसोलेसन लैजाने तयारी भइरहेको छ,’ उनले भने ।

योसँगै पोखरामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ र ६५ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment